नीति तथा कार्यक्रममै उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र निजका आश्रित परिवार, महिला स्वास्थ्य स्वयम्सेविका तथा विपन्नलाई स्वास्थ्य बीमामा आबद्ध गराइने भनिएको छ ।
बीमामा समावेश गराउन पनि जनप्रतिनिधि, कर्मचारीले प्राथमिकता पाएका छन् । संकल्पपत्रमा भने ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयम्सेविका, अति विपन्न, द्वन्द्वपीडित, एकल महिला, अशक्त र अपाङ्गहरुलाई निःशुल्क स्वास्थ्य बीमा गराइने भनिएको थियो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
यसपटक नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा एउटै ‘संकल्पपत्र’ लिएर चुनावी मैदानमा उत्रिएका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन छन् । उनीहरुले तय गरेको नीति तथा कार्यक्रम चुनावी घोषणापत्रलाई पछ्याउने हुनुपर्दछ । तर, बिहीबार नेपालगन्ज उपमहानगरपालिकाको ११औं नगरसभामा नगर प्रमुख विष्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आफ्नै ‘संकल्पपत्र’ बिर्सेको र दिशाहीन जस्तो देखिएको छ ।
कतिपय योजनाहरुको प्राथमिकता अहिले हो कि होइन भन्ने प्रश्न उठ्छ भने नेपालगन्जवासीको माग र आवश्यकतालाई पूरा गर्ने कतिपय कार्यक्रमहरुको सम्बोधन भएको छैन । कतिपय बजेटमा उल्लेख हुनुपर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ ।
जस्तो ‘इन्टरनेट सेवाको पहुँच नपुगेको २३ नम्बर वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिनेछ,’ भन्ने विषयलाई पनि नीति तथा कार्यक्रममा राखिएको छ भने एक सय आठ फिट अग्लो हनुमानको मूर्ति स्थापना गर्ने र वडा नम्बर २० स्थित सुर्खेतरोडमा नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार निर्माण गर्ने कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममै राखिएको छ ।
नीति तथा कार्यक्रमले संकल्पपत्रमा भनिएको उद्यमशीलता तथा रोजगारी, साहित्य, कला, संस्कृति र खेलकुदलाई बेवास्ता गरिएको छ भने अरु विषयमा बाचा गरिएका कुराहरु पनि नीति तथा कार्यक्रममा परेका छैनन् ।
उपमहानगरपालिकाको नीति तथा कार्यक्रमले पहिलो प्राथमिकता धार्मिक, सांस्कृतिक र पर्यटनलाई राखेको छ । जबकी ‘संकल्पपत्र’मा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको थियो । एकातिर बजेटको जोहोमा ठूला योजनाहरु सञ्चालन हम्मेहम्मे परिरहेको बेला नीति तथा कार्यक्रममै एक सय आठ फिट अग्लो हनुमानको मूर्ति स्थापना गर्ने योजनाले प्राथमिकता पाएको छ ।
बागेश्वरी क्षेत्र विकास कोषको गुरुयोजना निर्माण गर्ने, इदगाहमा प्रवेशद्वार निर्माण गर्ने, सिधनियाघाटमा मलामीहरुको विश्रामस्थल बनाउने, तालतलैयााको संरक्षण र सम्बद्र्धन, शव राख्ने फ्रिजर र विद्युतीय शवदाहगृह निर्माणका केही पहिलेदेखि नै नगरवासीले माग गरिरहेका योजना पनि नीति तथा कार्यक्रममा परेका छन् ।
छैठौँ नम्बरमा राखिएको शिक्षातर्फको नीति तथा कार्यक्रममा लोपोन्मुख तथा पिछडिएका वर्गका सन्ततीहरुलाई छात्रवृत्ति कार्यक्रम लागू गर्ने, मातृभाषामा पाठ्यक्रम निर्माण गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रम लागू गरिने, एक मावि एक नर्स कार्यक्रम लागू गरिने, शिक्षकको क्षमता विकास गरिनेलगायतका कार्यक्रम छन् ।
तर नगर प्रमुख र उपप्रमुखले चुनावी संकल्पपत्रमा भनेका विद्यालयमा आवश्यक न्यूनतम पूर्वाधार निर्माण, एक शिक्षक एक ल्यापटप, बालविकास शिक्षकको तलब आधारभूत विद्यालय शिक्षक सरह बनाइने, एक माध्यमिक विद्यालय एक प्राविधिक विषय कक्षा, नगर अनुदानबाट शिक्षकको व्यवस्था गर्ने बाचालाई बिर्सिइएको छ ।
स्वास्थ्यतर्फको नीति तथा कार्यक्रममा जमुनाह नाका, बसपार्क र राँझा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन गर्ने भनिएको छ । जबकी जमुनाह नाकामा पहिलेदेखि नै हेल्थ डेस्क सञ्चालनमा छन् । यसैगरी योगमैत्री नगर बनाउने, दुई वर्षभित्रमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालन गर्ने, निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने विषयहरु नीति तथा कार्यक्रममा छन् ।
नीति तथा कार्यक्रममै उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र निजका आश्रित परिवार, महिला स्वास्थ्य स्वयम्सेविका तथा विपन्नलाई स्वास्थ्य बीमामा आबद्ध गराइने भनिएको छ । बीमामा समावेश गराउन पनि जनप्रतिनिधि, कर्मचारीले प्राथमिकता पाएका छन् ।
संकल्पपत्रमा भने ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयम्सेविका, अति विपन्न, द्वन्द्वपीडित, एकल महिला, अशक्त र अपाङ्गहरुलाई निःशुल्क स्वास्थ्य बीमा गराइने भनिएको थियो । यसैगरी मदिरा र सुर्तीजन्य पदार्थ निषेध, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयम्सेविका, अति विपन्न, द्वन्द्वपीडित, एकल महिला, अशक्त र अपाङ्गहरुलाई विशेष स्वास्थ्य कक्षको विषय नीति तथा कार्यक्रममा परेको छैन ।
कृषितर्फ कृषि हाटबजार र पशुहाटबजार र पशु एम्बुलेन्स सञ्चालनका साथै दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाइने महŒवाकांक्षी कार्यक्रम तय गरिएको छ । संकल्पपत्रमा भनिएको कृषि बीमामा साना किसानलाई ५० प्रतिशत र मझौला किसानलाई ७५ प्रतिशत अनुदान, उन्नत नश्लमा ५० प्रतिशत अनुदान, कृषिमा आधारित उद्योग स्थापनालाई प्रोत्साहन, साना सिँचाइ पूर्वाधार विकास कार्यक्रमलाई नीति तथा कार्यक्रममा बिर्सिइएको छ ।
नीति तथा कार्यक्रमले बिर्सेको अर्काे विषय हो उद्यमशीलता तथा रोजगारीअन्तर्गत स्थानीय उद्योगमा निश्चित प्रतिशत स्थानीय रोजगारी दिनुपर्ने व्यवस्था गर्ने र त्यसबापत कर छुट दिने विषय पनि हो । स्थानीय उत्पादनका लागि ‘रैथाने कर्नर’ बनाउने संकल्पपत्रको बाचा बिर्सिइएको छ । यसैगरी युवा युवतीलाई निःशुल्क प्रजनन स्वास्थ्य सेवा, सुत्केरीलाई घरदैलोमा सेवा, पाँच वर्षभित्र फुसका छानाको विस्थापनको बाचा पनि नीति तथा कार्यक्रममा परेका छैनन् ।
भौतिक पूर्वाधारलाई दोस्रो स्थानमा राखिएको नीति तथा कार्यक्रममा वडा कार्यालय नभएका वडामा कार्यालय निर्माण, रात्रिकालीन बजारको पूर्वाधार, बागेश्वरी मन्दिर पूर्वको चिल्ड्रेन पार्कमा बेसमेन्ट पार्किङसहितको चिल्ड्रेन पार्क, सडकमा सिसी क्यामेरा जडानका कार्यक्रमहरु समावेश छन् । तर बढी भिडभाड हुने र सवारी आवतजावत बाक्लो हुने ठाउँमा आकासे पुल निर्माण गर्नुपर्ने नगरवासीको मागलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन । नगरका व्यस्त चोक तथा बस स्टेसनहरुमा प्रतीक्षालय निर्माण गर्ने भनिएको छ ।
तर अहिले भएकै प्रतीक्षालयहरु प्रयोगमा आइरहेका छैनन् । ट्राफिक व्यवस्थापनका लागि ‘उपमेयरसँग ट्राफिक व्यवस्थापन कार्यक्रम’ सञ्चालन गर्ने भनिएको नीति तथा कार्यक्रममा धेरैको माग रहेको ट्राफिक लाइटको व्यवस्था गर्ने विषय पनि समेटिएको छ । यसैगरी बजारका मुख्य चोकहरुमा स्वच्छ खानेपानीको व्यवस्था गरिने पनि कार्यक्रममा परेको छ ।
तर, खेलकुद मैदान निर्माणका लागि यसअघि तय भएका योजना, संकल्पपत्रमा भनिएको एक वडा एक खेलकुद मैदान निर्माणका योजना, सांस्कृतिक संग्रहालय निर्माणको योजनालाई त्यही संकल्पपत्र देखाएर निर्वाचित मेयर र उपमेयरहरुले बिर्सेका छन् ।
कार्यविधिविपरीत नगरसभा सञ्चालन
नेपालगन्ज उपमहानगरपालिकाको एघारौँ नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दीन राईले आगामी एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । उपमहानगरपालिकाको नगरसभाको सञ्चालन प्रक्रिया भने कुनै राजनीतिक दलको सम्मेलन जस्तो देखियो ।
नगर प्रमुख आउन ढिलाई हुँदा निर्धारित समयभन्दा ठीक दुई घण्टा ढिलो सुरु भएको सभाको सञ्चालन कार्यविधिविपरीत गरिएको थियो । ढिलाई भएकोमा कसैले पनि क्षमायाचना पनि गरेनन् । त्यसको कारणबारे पनि बताएनन् । नगरसभाका सदस्यहरु (सबै जनप्रतिनिधि) दुई घण्टा हलमा खाली बसे ।
उपमहानगरपालिकाले २०७४ सालमै तर्जुमा गरेको नगरसभा सञ्चालन कार्यविधिमा निर्धारित समयभित्रै सबै सदस्यहरु सभामा प्रवेश गरेर आफ्नो स्थानमा बसिसक्नुपर्ने उल्लेख छ । तर सभाध्यक्ष उपस्थित भइसक्दा पछि पनि हलमा अव्यवस्थित आवतजावत चलिरहेको थियो । कार्यविधिअनुसार नगरसभाको सञ्चालन गर्ने जिम्मा नगर प्रमुखअर्थात् सभाध्यक्षको हो ।
तर, कार्यक्रम सञ्चालनका लागि एकजना कर्मचारीलाई जिम्मा दिइयो । योजना शाखा प्रमुख जागेश्वर बस्नेतले कार्यक्रममा सभाध्यक्ष प्रवेश गर्नुअघि नै उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै आसन ग्रहण गराएनन् सबै नगरसभा सदस्य र पत्रकारसम्मलाई आसन ग्रहण गराए । उनले नै सभा अवधिभर उद्घोषण गरे । कार्यक्रम सञ्चालन तालिकामा पनि नगर प्रमुख प्रवेश गरिसकेपपिछ मात्रै अरुलाई आशन ग्रहण गराउने उल्लेख थियो । अर्काेतिर वडाध्यक्षहरु बस्ने कुर्सीहरु नराखिएको भन्दै गुनासो गर्दै थिए ।
कार्यविधिमा अध्यक्षले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ भन्ने उल्लेख छ । तर नगरसभाको सुरुवातमा स्वागत मन्तव्य भनेर प्रमुख प्रशासकीय अधिकृतले भाषण गरे । नगर प्रमुख आइसकेपछि दुईपटक राष्ट्रिय धुन बजाइयो ।
नगर प्रमुखलाई प्रशासकीय अधिकृत र उपप्रमुखको मध्य भागमा बस्ने व्यवस्था गराउनुपर्नेमा बायाँ छेउमा बसाइयो । केही बेरपछि मात्रै उनलाई मध्य भागमा बसाइँयो । मञ्चमा बसेका तीनजनाको टेबलमा पद लेखिएको नेमप्लेट पनि राख्नुपर्नेमा त्यो पनि राखिएको थिएन ।
नगरसभामा नीति तथा कार्यक्रममा वडाध्यक्ष तथा सदस्यहरुसँग सुझाव नलिएको भन्दै वडाध्यक्ष तथा सदस्यहरुले विरोध पनि जनाए । जनप्रतिनिधिको विरोधपछि नगर प्रमुख प्रशान्त विष्टले बन्दसत्रमा छलफल गरिने बताए । विवादबीच नै नीति तथा कार्यक्रम पारित गरियो । त्यसपछि अर्को बैठक असार १५ गते ११ बजे बस्नेगरी स्थगित गरियो ।









प्रतिक्रिया दिनुहोस्