लुम्बिनी र कर्णालीमा मनसुन प्रवेश



काठमाडौं ।

यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ।

नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो। यससँगै मनसुन प्रवेश भएको प्रदेश छवटा पुगेको छ।

देशका बाँकी रहेको भू-भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ। यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १० गते शुक्रबार