दाङ ।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले दाङस्थित तुलसीपुरकी एक महिला र नाबालिकामाथि कुटपिट गरेको आरोप लागेको घटनाका विषयमा छानबिन सुरु भएको छ ।
प्रदेश सरकारले बनाएको छानबिन समितिले बुधबारदेखि छानबिन सुरु गरेको हो । उक्त घटनाका विषयमा गहिरो अध्ययन गरेर समितिले १५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने छ ।
‘घटनाबारे अनसन्धान सुरु भएकाले अझै कति दिन लाग्छ ? भनेर यकिन गर्न सकिने अवस्था छैन,’ आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले भने, ‘घटनाको यकिन तथ्य थाहा नहुँदासम्म अनुसन्धान चलिरहने कुरा हुन्छ ।’ उनका अनुसार बुधबार पीडित महिला र उनको परिवारलगायत स्थानीयहरुसँग यो समितिले घटनाबारे सोधपुछ गरेको छ ।
राज्ममन्त्री वलीले तुलसीपुरका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीलाई गत जेठ ३१ गते घरमै प्रवेश गरेर कुटपिट गरेको आरोप लागेको छ ।
घटना लगत्तै राज्यमन्त्री ओलीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धानका लागि उसैदिन जिल्ला प्रहरी कार्यालयमा ल्याइएकी राज्यमन्त्री ओलीलाई राति बुटवल पु¥याइएको थियो ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माको संयोजकत्वमा रहेको छानबिन समितिले घटनास्थलमै आएरै वास्तविकता बारे अनुसन्धान गरिरहेको जनाएको छ ।
संयोजक सञ्चारमन्त्री शर्मासहित समितिका सदस्यहरु अहिले तुलसीपुरमै आएर घटनाबारे अनुसन्धान गरिरहेका छन् । यो समितिमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् ।









प्रतिक्रिया दिनुहोस्