पालिकाको निर्णयनै टेर्दैनन् विद्यालय



शुभाकर विश्वकर्मा । कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकाको गाउँ कार्यपालिकाले जेठ ३१ गते विद्यालय बन्द गर्ने निर्णय ग¥यो । केही दिनदेखि अध्यधिक गर्मी बढेका कारण विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न भइरहेको जानकारी आएको भन्दै तीन दिन पालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न भनियो । तर, राप्तीसोनारीका सामुदायिक तथा संस्थागत विद्यालयले गाउँ कार्यपालिकाको निर्णय अवज्ञा गरेका छन् ।

यसको कारण, ‘बिदाको आवश्यकता छ वा छैन भन्ने विषयमा पालिका विद्यालय र अभिभावकलगायतसँग छलफल नगरि आफूखुसी निर्णय लाद्नु हो ।’ राप्तीसोनारीमा असार १ गतेदेखि ३ गतेसम्म विद्यालय बन्द हुने भनिए पनि बुधबार नौवटै वडामा अवस्थित अधिकांश सामुदायिक र संस्थागत विद्यालय खुल्ला नै रहे । गाउँपालिकाले बिना जानकारी आफू खुसी निर्णय गर्दा र बन्दको सूचना ढिलो दिँदा असार १ गते पठनपाठन गर्नु परेको यहाँका विद्यालयहरुको भनाइ छ ।

बुधबार विद्यालय सञ्चालन गर्ने सामुदायिक विद्यालयमध्ये एक सरस्वती मावि भवानीयापुरले गर्मीका कारण विद्यालय बन्द गर्ने निर्णय स्वागतयोग्य भए पनि आफ्नो सेवा क्षेत्र अनुकूल नरहेको भन्दै विद्यालयमा पठाइ नरोकिएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक ललित चौधरी आफ्नो विद्यालय क्षेत्रका विद्यार्थीको पारिवारिक पृष्ठभूमि कृषक र कोरोना भाइरसका कारण ढिलो विद्यालय सञ्चालन भएकोलगायतका कारणले पढाइ नरोकिएको बताउँछन् ।

‘वर्षाको समयमा सुरु भइसक्यो । हाम्रो क्षेत्रमा चार/पाँच दिनमा खेतीपाती सुरु हुन्छ,’ उनले भने, ‘त्यतिबेला विद्यार्थी विद्यालय नै आउँदैनन् । झन कोरोनाका कारण विद्यालयमा ढिलो पढाइ सुरु भयो । धेरै पढाइ पनि भएको छैन । त्यसैले विद्यालय खुलेका हौं ।’

विद्यालय सञ्चालनका लागि अभिभावक र शिक्षा शाखासँग पनि राय लिएको भन्दै उनले दुवै पक्ष सकारात्मक देखिएपछि विद्यालय खुला गरिएको बताए । राप्तीसोनारी वडा नम्बर ३ मा पर्ने उक्त विद्यालय क्षेत्र कृषियोग्य क्षेत्र हो ।

असारको महिनामा विद्यार्थी बर्सेनि थोरै आउँछन् । स्थानीय सरकारको निर्णय तपाईंहरुले अवज्ञा गर्न मिल्छ र ? भन्ने मिसन टुडेको प्रश्नमा प्रधानाध्यापक चौधरीले आफूहरुको उद्देश्य कार्यपालिकाको निर्णय अवज्ञा गर्ने नरहेको बताए । तर, स्थानीय अनुकूलता र शिक्षा शाखाको रायअनुसार नै विद्यालय सञ्चालन गरिएको चौधरीको दाबी छ ।

उनी भन्छन्, ‘मैले अभिभावकसँग राय लिएँ । उहाँहरुले विद्यालय चलाउनुपर्छ भन्नुभयो । त्यसपछि शिक्षा शाखाको सरले मलाई फोन गर्नुभयो । मैले सबै कुरा बताएपछि उहाँले ठिकै छ त तपाईंहरु खोल्नुहोस् न भन्नुभयो ।’ सरस्वती मावि मात्रै होइन राप्तीसोनारीका अन्य केही सामुदायिक विद्यालयसमेत खुलेका थिए । यस्तै बुधबार राप्तीसोनारी क्षेत्रका संस्थागत विद्यालयले समेत गाउँ कार्यपालिकाको निर्णय लत्याउँदै विद्यालय सञ्चालन गरेका छन् । राप्तीसोनारी क्षेत्रमा कूल १७ संस्थागत विद्यालय छन् ।

तीमध्ये केहीबाहेक अन्य विद्यालय सञ्चालन भएका थिए । नेसनल प्याब्सन राप्तीसोनारीका सचिव सागर दत्त गौतमका अनुसार विद्यालयलाई समयमै सूचना नआउँदा बुधबार विद्यार्थी आएपछि पठनपाठन भएको हो ।

उनले गाउँपालिकाले आफूहरुलाई औपचारिकरुपमा जानकारी नदिएको बताए । बन्दको सूचनासमेत ढिलो प्रकाशन भएका कारण आफूहरुले समयमै जानकारी पाउन नसकेको उनको भनाइ छ । हुन पनि गाउँपालिकाले विद्यालय बन्दको निर्णय भएको सूचनामा विद्यालय समयभन्दा ढिलो साढे चार बजेतिर गाउँपालिकाको फेसबुक पेजमा सार्वजनिक गरेको थियो ।

‘बन्दको निर्णय ढिलो आयो । हामीले समयमै सूचना पाएनौं,’ उनले भने, ‘साना बच्चा, उनीहरुलाई के थाहा बिहान आइहाले । होमवर्क दिएर पठायौं ।’ गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरे पनि मौसम अनुकूल भएमा राप्तीसोनारीका संस्थागत विद्यालय खुल्लै रहने उनले बताए ।

राप्तीसोनारी गाउँपालिकाका प्रशासन-शिक्षा शाखा प्रमुख जीवन न्यौपानेले गाउँ कार्यपालिका कार्यालयले गरेको निर्णय बाध्यकारी नभएको बताए । ‘यो नियमित बिदा होइन, आकस्मिक हो । बाध्यकारी पनि होइन,’ उनले भने, ‘कुनै विद्यालयले व्यवस्थापन गर्न सक्छ उसले पढाउन पाउँछ । हामी तिमीहरुले विद्यालय बन्द र खुल्ला गर भन्दैनौं ।’ राप्तीसोनारी गाउँपालिकामा १७ संस्थागत तथा ५४ सामुदायिकसहित कूल ७१ वटा विद्यालय छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २ गते बिहीबार