शुभाकर विश्वकर्मा । कोहलपुर ।
गर्मीका कारण पाँच दिन अघि बन्द गरिएका विद्यालयमा बिदा थप गरिएको छ । हालसम्म पनि तापक्रममा कुनै सुधार नआएको र तापक्रम दिन प्रतिदिन बढ्दै गएपछि विद्यालय अझै केही दिन नखुल्ने भएका हुन् । जिल्लाका आठमध्ये तीन पालिकाले जेठ २७ गतेबाट ३१ गतेसम्मका लागि गर्मी बिदा दिएका थिए ।
२७ गते गर्मी बिदा दिएका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले थप तीन दिनका लागि बिदा बढाएका छन् । अब ती पालिकामा असार ३ गतेसम्म कुनै पनि सामुदायिक तथा संस्थागत विद्यालय खुल्ने छैनन् ।
खजुरा गाउँपालिकाअन्तर्गत गर्मीका कारण दैनिक जीवन कष्टकर भइरहेकोले नियमित पठनपाठन सञ्चालन गर्न नसकिने अवस्थाको जानकारी विद्यालयहरुबाट आएको भन्दै विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी थप तीन दिन बिदा दिने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा खजुराका प्राविधिक सहायक (शिक्षा) निर्मल रेग्मीले जानकारी दिए । उनका अनुसार असार ५ गतेदेखि भने पालिकाभरिका सम्पूर्ण विद्यालयमा नियमित पठनपाठन सुरु गर्न गर्न पत्राचार गरिएको छ ।
यस्तै कोहलपुर नगरपालिकाले पनि गर्मीका कारण दैनिक जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै थप तीन दिन बिदा थप्ने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख वीरेन्द्रबहादुर शाहद्वारा जारी विज्ञप्तिमा असार ५ गतेबाट नियमित पठनपाठन सुरु हुने जनाइएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिकाले समेत तीन दिन बिदा थप गरेको छ । गत जेठ २८ गते बैजनाथ गाउँपालिका र डुडुवा गाउँपालिकाले समेत गर्मी बिदा दिएका थिए ।
यसैगरी जिल्लाको राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गर्मी बिदा दिएको छ । यसअघि अन्य पालिकाले गर्मी बिदा दिए पनि राप्तीसोनारीमा पठनपाठन भइरहेको थियो । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा जारी सूचनामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण विद्यालयमा पठनपाठन नियमित गर्न कठिनाइ भइरहेकाले असार ३ गतेसम्म सामुदायिक र संस्थागत सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्