…जब रिपोर्टरले मृत्युपत्र थमाए



उनको मृत्युपत्रको अन्तिम वाक्य छ, ‘उनीहरु मलाई कहाँ बोलाएका छन् म त्यहाँ जाँदैछुँ । म जानुभन्दा अगाडि लेखेको चिठ्ठी हो
यो । मलाई केही तलमाथि भयो भने मेरो श्रीमान्, छोराछोरीले न्याय पाउन भनेर मैले यो चिठ्ठी लेखेको हुँ ।
मेरो मृतक शरीरले पनि न्याय पाओस् ।’ उनी अन्तिम अवस्थामा पुगी सकेको देखिन्छ । थप उनलाई मृत्युको बाटो रोज्न उर्जा थप्न चाहन्नौं ।

बुधबारका लागि खास समाचार संकलन भइरहेको थियो । जसको अध्ययन र अनुसन्धान तथा रिपोर्टिङ गर्न तीन दिन लाग्यो । त्यसका लागि प्रमुख संवाददाता शुभाकर विश्वकर्मा आइतबारदेखि रिपोर्टिङमा थिए । रिपोर्टिङको विषय थियो, ‘मिटर ब्याज’ । उनले समाचारका लागि आवश्यक पर्ने प्रमाण उपलब्ध गराइसकेका थिए । अन्तिम पीडकसँग कुरा गर्न मात्र बाँकी थियो । सायद उनले पीडकको भनाइ थप्ने गरी समाचार तयार पारिसकेका थिए ।

शनिबार साँझ उनलाई समाचार संकलनका लागि जिम्मा दिइएको थियो । त्यसभन्दा पहिला संवाददाताहरुबाट विभिन्न विषय आए । ति विषयमा कसलाई प्रमुख प्राथमिकता दिने र कसलाई कहाँ प्राथमिकतामा राख्ने भन्ने विषयमा मेरो ध्यान केन्द्रित थियो । प्रमुख संवाददाता शुभाकर विश्वकर्माले एउटा विषय उठान गरे । जुन विषय थियो, ‘मिटर ब्याज’ । यो विषयमा गहिरिएर छलफल भयो र आइतबारका लागि प्रमुख बनाउने निष्कर्ष भयो । आइतबार बिहानैबाट शुभाकर रिपोर्टिङमा तल्लीन रहे ।

पीडकसम्म उनी विद्यार्थी भेषमा पुगेका थिए । आत्मसुरक्षाको जोखिमले उनी भेष बदल्न बाध्य थिए । मिटर ब्याजसँग जोडिएका विभिन्न व्यक्तिसँग उनले साक्षात्कार गरिरहे । उनी मेरो सम्पर्कमै थिए । उनको मिहेनत देखेर खुसी थिएँ । मन प्रफूल्ल थियो । आइतबारको समाचार राम्रै बन्ने भयो भन्ने मनमा थियो । जब म आफ्नो कार्यकक्षभित्र प्रवेश गरे ।

सहकर्मीहरु काममा व्यस्त थिए । तर, आइतबार प्रकाशन गर्ने समाचारका लागि पर्याप्त प्रमाण पुगेनन् । आंशिक प्रमाणपत्र मात्र संकलन भए । समाचारलाई पुष्टि गर्ने सबै प्रमाण संकलन नहुँदासम्म उक्त समाचार प्रकाशन गर्न सकिएन । एवम् रीतले आइतबार र सोमबार पनि धकेलिए ।

स्वयम् पीडक भनिएकी व्यक्तिसम्म शुभाकर पुगे । समाचार प्रकाशन हुनेमा ढुक्क थियौं । मंगलबार म समाचार कक्षमा प्रवेश गरिसकेको थिए । जुन विषयमा रिपोर्टिङका लागि जिम्मा पाएका थिए, उनी स्थलगत रिपोर्टिङमै थिए । उनलाई पीडक भनिएकी महिलाको मात्र प्रतिक्रिया लिनु थियो । मंगलबार दिउँसो ३ बजे बाहिरको तापक्रम ४०.८ डिग्री सेल्सियस थियो । एसीको तापक्रम २८ डिग्री बनाएर म खास समाचारको प्रतीक्षामा थिएँ ।

उखरमाउलो गर्मी छिचोल्दै रिपोर्टिङबाट प्रमुख संवाददाता शुभाकर जब कार्यकक्षमा प्रवेश गरे, उनको अनुहार मलिन थियो । अनुहारभरि पसिना, थकित मुन्द्रा, गम्भीर मोडमा भित्रिए । उनले समाचारका लागि आवश्यक पर्ने सूचनासँगै मृत्युपत्र बोकेर कार्यकक्षभित्र प्रवेश गरे ! अचम्म लाग्यो । उनले मलाई दाइ भनेर सम्बोधन गर्छन् । म भाइ भनेर बोलाउँछु ।

त्यो मृत्युपत्र उनको थिएन, जसको समाचारमा पीडक भनिएकी थिइन् उनैले लेखेको मृत्युपत्र थियो । थकाइ मार्दै, लामो सास फेर्दै उनले भने, ‘दाइ, समाचार लेखौं कि कसैको मृत्युको प्रतीक्षामा बसौं !’ उनले विस्तृत खुलाउँदै गए । यसमा पीडक भनिएकीको परिचय गोप्य राखिएको छ । शुभाकरले पीडक भनिएकी महिलालाई भेटेरै कुरा गरे । उनीसँगको कुरामा दुई घण्टा खर्चेका थिए । आवश्यक थप प्रमाण पनि ल्याए । तर ति महिलाले शुभाकर त्यहाँबाट फर्किंदा मृत्युपत्र पनि थमाइछिन् । शुभाकरले मलाई त्यही मृत्युपत्र हातमा पारे ।

डेढ दशक लामो पत्रकारिताको दौडानमा यो मेरो पहिलो अनुभव हो । जब म रिपोर्टिङ गर्दा पनि यस्तो अनुभव छैन । जब समाचारलाई हेर्ने भूमिकामा पुगे योबाहेक अरु अनुभव पनि छैन मसँग । उनी (शुभाकर) समाचार संकलन गर्न स्थलगत पुग्दा समाचारलाई प्रभावित पार्न विभिन्न व्यक्तिबाट फोन नआएका पनि होइनन् । ति फोनले अझ समाचार प्रकाशन गर्न हताइरहेको थियो । जब रिपोर्टरले समाचारको पात्रको मृत्युपत्र ल्याएर मेरा हातमा थमाउँछन् अनि मेरो मानसपटलमा भूइँचालो जान्छ । केही समय म निःशब्द भए । सहकर्मी पनि आश्चर्य चकित भए ।

कार्यकक्षमा रहेका अन्य सहकर्मीसँग पनि यो विषयमा व्यापक छलफल भयो । मेरोजस्तो सबैको एउटै राय आयो, मानवीयताको । प्रकाशक-सम्पादक विनोद पौडेलसँग पनि यो विषयमा गम्भीर छलफल भयो । उहाँले हाम्रो मानवीयतालाई नकार्ने कुरै हुँदैन्थ्यो । उहाँमा पनि त मानवीयता थियो र छ । उहाँसँग थप छलफलपछि मानवीयताका कारण मृत्युपत्रलाई डस्टबिनमा राखेर समाचार प्रकाशन गर्न मनले मान्दै मानेन । समाचार प्लानिङ हुँदा जति उत्साह थियो, त्यो उत्साह एकाएक ह्रास भयो । मृत्युपत्रमा लेखिएका शब्दले मन्त्रमुग्ध बनायो । यो लेखिरहदाँ मेरा हात कापिरहेका छन् । मृत्युपत्रबाहेक अरु मानसपटलमा घुमेकै छैनन् ।

उनले मृत्युपत्रमा समाचारमा लेख्न खोजिएका विषय उल्लेख गरेकी छिन् । विभिन्न व्यक्तिबाट डर, धम्कीसमेत आएको कुरा उल्लेख गरेकी छिन् । बारम्बार धम्की र केही व्यक्ति आफ्ना पछाडि लागेको कुरा उनले खुलेर लेखेकी छिन् । आफूले अर्का व्यक्तिलाई दिएको पैसा पाउभन्दा आफूलाई फसाउन खोजिएको कुरा उनले मृत्युपत्रमा लेखेकी छिन् ।

उनको मृत्युपत्रको अन्तिम वाक्य छ, ‘उनीहरु मलाई कहाँ बोलाएका छन् म त्यहाँ जाँदैछुँ । म जानुभन्दा अगाडि लेखेको चिठ्ठी हो यो । मलाई केही तलमाथि भयो भने मेरो श्रीमान्, छोराछोरीले न्याय पाउन भनेर मैले यो चिठ्ठी लेखेको हुँ । मेरो मृतक शरीरले पनि न्याय पाओस् ।’ उनी अन्तिम अवस्थामा पुगी सकेको देखिन्छ । थप उनलाई मृत्युको बाटो रोज्न उर्जा थप्न चाहन्नौं । पहिला मान्छेको जिन्दगी ठूलो हो । पहिला मान्छे बचाऔँ अनि समाचार तयार गरौँला । मैले पत्रकारितामा सिकेको पाठभन्दा म उल्टो बाटो हिँडे । र शुभाकरलाई पनि मेरै बाटोअर्थात मानवीयता झल्काउन सुझाए ।

पत्रकारिताले पहिला समाचारका लागि सूचना संकलन गर्ने र समाचार प्रकाशन गर्ने अनि मात्र उद्दार र सहयोगलगायतका कार्यमा जुट्ने भन्छ । तर, सिकेजति सबै व्यवहारमा उतार्न सकिँदो रहेनछ । सायद पत्रकारिताको परीक्षा पनि यहीनेर हुन्छ होला । यो समाचार प्रकाशन नगर्दा मसँगै प्रमुख संवाददाता शुभाकर र पत्रिका पत्रकारितामा उत्र्तीण भयो वा अनुत्र्तीण, त्यो गौन मानेँ । मेरो प्राथमिकता मानवीयता बन्यो र समाचारभन्दा पात्रको ज्यान महŒव भयो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार १ गते बुधबार