राप्तीसोनारीका वडामा बजेट बाँडफाँट



कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकाले वडागत बजेट विनियोजन गरेको छ । गाउँपालिकामा रहेका नौवटा वडामा जनसंख्या, भूगोल र गत आर्थिक वर्षबाट घट्न गएको बजेट सिलिङका आधारमा वडागत बजेट विनियोजन गरिएको हो ।

जनसंख्या र भूगोलको आधारमा नेपालकै सबैभन्दा ठूलो पालिका रहेको राप्तीसोनारीको भूगोल विविधता युक्त छ । जनसंख्या र भूगोलको आधारमा बजेट विनियोजन गरिएको भनिए पनि बजेट विभेदकारी भएको वडाध्यक्षहरुले जनाएका छन् । सबै वडालाई समान बजेट विनियोजन गरिएको छैन ।

आर्थिक वर्ष २०७८/०७९ मा नौवटै वडाको विनियोजित बजेट ३१ करोड ९५ लाख २७ हजार रहेकोमा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कूल ४० करोड ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सबैभन्दा धेरै बजेट वडा नम्बर ७ मा एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा उक्त वडामा एक करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस्तै वडा नम्बर १, २ र ७ मा समान एक करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । ती वडामा चालू आर्थिक वर्षका लागि क्रमशः वडा नम्बर १ र २ मा दुई करोड र वडा नम्बर ७ मा एक करोड ८० लाख नै वियोजन भएको थियो । वडा नम्बर ३ मा भने आगामी आर्थिक वर्षको लागि बजेट घटेर आएको छ ।

चालू आर्थिक वर्षका लागि एक करोड ७५ लाख विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि एक करोड ६० लाख मात्रै विनियोजन गरिएको हो । उक्त वडाको बजेट १५ लाख घटेको छ । यस्तै आगामी आर्थिक वर्षका लागि एक करोड ६० लाख बजेट छुट्याइएको वडा नम्बर ४ मा चालू आर्थिक वर्षमा एक करोड ७५ लाख रुपैयाँ विनियोजन भएको थियो ।

यसैगरी वडा नम्बर ५ मा चालू आर्थिक वर्षको एक करोड ८० लाख बजेटमा २० लाख घटाएर आगामी आर्थिक वर्षका लागि एक करोड ६० लाख विनियोजन गरिएको छ । त्यस्तै वडा नम्बर ९ मा चालू आर्थिक वर्षमा एक करोड ७५ लाख बजेट रहेकोमा आगामी आर्थिक वर्षका लागि एक करोड ६० लाख बजेट विनियोजन भएर आएको छ ।

यसपटक राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, २, ३, ८ र ९ मा नेकपा एमाले, वडा नम्बर ४, ५ र ७ मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ६ मा राप्रपाले जितेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष जितेको नेपाली कांग्रेस भने यसपटक वडाविहीन छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ३१ गते मंगलबार