कोहलपुरमा शहिद परिवारबाट आर्शिवाद लिदैं कांग्रेसका उम्मेदवारद्धारा घरदैलो सुरु



बाँके ।

नेपाली काँग्रेस कोहलपुरले आज (शनिबार)देखि चुनावी घरदैलो शुरु गरेको छ । कोहलपुर नगरपालिका—१२ चप्परगौडी स्थित शहिद परिवारको घरबाट घरदैलो अभियान शुरु गरिएको हो ।

शहिद परिवारका अभिभावक कुलबहादुर खत्रीले मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुवेदी, वडाअध्यक्ष पदका उम्मेदवार वीरेन्द्रबहादुर शाह लगायतलाई खादा लगाएर खत्रीले विजयीको शुभकामना दिएका थिए । सशस्त्र द्वन्द्वकालमा आफन्त गुमाएका र विस्थापित भएका परिवारका तर्फबाट खत्रीले शुभकामना दिएका हुन् ।

खत्रीको शुभेच्छा र शुभकामनासहित घरघरमा पुगेका उम्मेदवारहरुले कोहलपुरको समग्र विकास लागि आफुहरु योजनाबद्ध तरिकाबाट अघि बढ्ने भन्दै नमुना कोहलपुर बनाउन काँग्रेसलाई एकपटक जिताउन अपिल गरे । स्थानीय मतदाताहरुले पनि नमुना कोहलपुर बनाउन युवाहरुको विकल्प नभएको भन्दै यसपाली व्यक्ति हेरेर मत दिने विश्वास दिलाएका थिए ।

उनीहरुले अघिल्लो निर्वाचनमा मत दिएर जिताएका जनप्रतिनिधिले आफ्नो बस्तीको विकासका लागि प्रभावकारी काम नगरेको भन्दै अव योजना सहित अगाडि बढ्ने र युवा पुस्तालाई मत दिने विश्वास दिलाए ।

घरदैलो अभियानमा जिल्ला सभापति नारायणप्रसाद गौडेल, पार्टीका पूर्व उपसभापति तथा महासमिति सदस्य फुलाराम थारु, महासमिति सदस्य द्रोपती वलीलगायत सहभागी रहेका थिए । कोहलपुर नगरपालिकाका १५ वटै वडामा आजदेखि औपचारिक रुपमा घरदैलो अभियान शुरु भएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख १७ गते शनिबार