
मोटरसाईकलको ठक्करबाट ज्यान गुमाएकी नाबालिका अनाबीया राइको न्यायको लागि त्रिभुवन चोकमा जम्मा भएर दवाव दिइदैं ।
नेपालगन्ज ।
दैनिक हजारौंले ओहोरदोहोर गर्छन् । बिहान काम खोज्ने र कामदार खोज्नेको जमघट पनि त्यहिँ नै हुन्छ । साँझ पर्नेबित्तिकै चना र चटपटे खाने युवा युवतीहरुको भीड । अनि दैनिक भान्साका सामान किन्नेहरुको लर्को ।
नेपालगन्जको अतिव्यस्त चोक हो त्रिभुवन चोक । करिब एक महिनादेखि यही चोकको स्तम्भमा झुण्ड्याइएको एउटा ब्यानर लेखिएको थियो, ‘अढाई वर्षीया नाबालिका अनाबीया राइलाई न्याय चाहियो ।’ अनाबीया, जसको मोटरसाईकलको ठक्करबाट ज्यान गएको थियो । तर, कसले ठक्कर दियो र ती चालक को हुन् भन्ने अहिलेसम्म पत्ता लागेको छैन ।
अचम्म लाग्दोकुरा त के भने दिउँसै ठेलमठेल गर्नुपर्ने बीच चोक नजिकै ठक्कर दिएर मोटरसाईकलसहित चालक फरार हुन्छन् तर, कसैलाई पत्तो हुँदैन । गत भदौं ७ गते करिब राति सवा १० बजेतिरको घटना हो । अन्यत्र सुनासान भए पनि ११ बजेसम्म त्रिभुवन चोक गुलजार नै हुन्छ । अबेरसम्म त्यहाँ खाजा नास्ता खाने र किनमेल गर्नेको भीड नै हुन्छ ।
एक महिना भइसक्यो अनाबीयाको दुर्घटनामा परी मृत्यु भएको तर, अहिलेसम्म ती अज्ञात व्यक्ति को हुन् जसले तीव्र गतिमा मोटरसाईकल हुइँकाएर अनाबीयाको शरीर क्षतविक्षत पारे, उनको पत्तो छैन । प्रहरीले अहिलेसम्म एउटा क्लू पनि भेटाउन सकेको छैन । सोही चोकबाट मोटरसाईकलमा करिब एक मिनेटको दूरीमा छ जिल्ला प्रशासन कार्यालय बाँके ।
त्यहाँ सुरक्षाकर्मी २४ सै घण्टा तैनाथ हुन्छन् । त्यहाँ मात्र होइन त्रिभुवन चोकमा समेत २४ सै घण्टा प्रहरी ड्युटीमा हुन्छन् । पूर्वतर्फ अलिक वर आउँदा न्यूरोडमै प्रहरी बिट छ । दुर्घटना गराएको व्यक्ति त्यति हतारमा बेपत्ता हुनसक्ने स्थिति पनि देखिँदैन । तर, अकस्मात एक चालक तीव्र गतिमा मोटरसाईकलमा आउँछन् र अबोध नाबालिकाको शरीरमाथि चढाउँदै अलप हुन्छन्, कोहीलाई पत्तो हुँदैन । व्यस्त बजार क्षेत्रमा सुरक्षा निगरानीका सीसीटीभी क्यामेरा नभएको पनि होइन ।
पूरै चोक पेरिफेरिकै दृश्य देखिनेगरी त्रिभुवन चोकैमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । तर, विडम्बना नै भन्नुपर्छ । अहिले ती क्यामेराले काम गर्दैनन् । स्थानीय व्यवसायीको पहलमा राखिएका ती क्यामेराहरुको सुरक्षा न स्थानीय सरकारले गरेको छ, न मर्मतका लागि सुरक्षा निकायले नै चासो दिएको छ । प्रहरी आफैंले पनि कहिलेकसो भन्ने गरेका छन्, ‘प्रहरीले चाह्यो भने सियो चोरलाई पनि दुलाबाट निकाल्न सक्छन् ।’ तर, एक महिनासम्म पनि एक क्लू पनि नभेटिइनुमा प्रहरीले नचाहेकै हो त ।
यहाँ एक अबोध नाबालिकाको ज्यान गएको छ । भीडभाड एरियाबाटै ठक्कर दिने सवारीसहित बेपत्ता हुन्छन् । तर, प्रहरी अनुसन्धान एक महिनादेखि शून्यतामै सिमित छ । प्रहरी अनुसन्धानलाई गिजोल्ने बाँकेकै अर्को घटना छ । जो अहिले राष्ट्रिय स्तरका मिडियामा पनि छाइरहेको छ । एक सातादेखि न्यायको माग गर्दै महिलाहरु नेपालगन्जदेखि राजधानीसम्मको पैदल यात्रामा छन् । यो कस्तो विडम्बना हो । ज्यान गुमाउने त गइगए तर बाँचेकाहरु पनि उनको न्यायका लागि आफ्नो ज्यान जोखिममा हाल्नुपर्ने ?
नेपालगन्ज मात्रै होइन, देशमै न्याय मरिसकेको भान हुन्छ । जब न्यायको लागि सडक संघर्ष र आन्दोलनको सहारा लिनुपर्छ । एक वा दुई घटना भए अपवाद नै मान्नुपर्छ । तर, हरेक घटनापिच्छे नागरिकले न्यायका लागि सडक नतताई न्याय पाइँदैन ।
दुई महिलाको शंकास्पद मृत्युपछि अनुसन्धानका लागि बाँके प्रहरीकहाँ आफन्तले हारगुहार गरे । तर, प्रहरीले वेवास्ता गर्यो । पीडितलाई प्रहरीप्रति कत्ति पनि भरोसा भएन । त्यसैले आफन्तहरु यहाँबाट दवाव दिनका लागि संघीय राजधानीसम्म पैदल यात्रा गर्न बाध्य भए । हिंसामा परेरै ज्यान गुमाएका दुई महिलाको मृत्युको विषयमा प्रहरीले ‘शक्तिशाली’ आरोपितमाथि अनुसन्धान नगरेको भन्दै न्याय माग्न हिँडेका पीडित परिवार र अधिकारकर्मी बाटैमा छन् । बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत साउन ५ मा मृत फेला परेकी थिइन् ।
झुन्डिएको अवस्थामा घरमै उनको शव भेटिएको हो । उनले लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा हत्या हुन सक्ने भन्दै अगुवा महिलाले प्रहरी गुहारेका थिए । तर, प्रहरीले अनुसन्धानमा जाँगर गर्नुको सट्टा आत्महत्या किटान गर्न हतार गरेको महिलाहरूको गुनासो छ । प्रहरीले भने नन्कुन्नीको मेडिकल रिपोर्टबाटै आत्महत्या गरेको स्पष्ट खुलेको दाबी गरेको छ ।
त्यस्तै नेपालगन्ज उपमहानगरसँग जोडिएको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी गत वर्ष मंसिरबाट बेपत्ता छिन् । आफन्तले मंसिर १६ मा नै स्थानीयले प्रहरीमा किटानी जाहेरी दिएका थिए, तर अनुसन्धान भएन । अहिले प्रहरीले उनको मृत्यु भइसकेको जानकारी दिए पनि मृत्युको कारण के हो, दोषी को हो भन्ने विषयमा केही भनेको छैन । उनको मृत्युको कारण थाहा पाउनुपर्ने माग गर्दै पीडित परिवार र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन् ।
सम्पत्ति हडप्न खोज्नेहरूबाट लामो समयदेखि प्रताडित कुर्मीको अपहरणपछि हत्या गरिएको हुन सक्ने अधिकारकर्मी बताउँछन् । बालअधिकाकर्मी साहिल अन्सारी भन्छन्, ‘हरेक घटनामा आन्दोलन या त आफन्त तताद्दासम्म प्रहरीले सक्रियता देखाउँदैन । यो कस्तो विडम्बना प्रहरीलाई नै आफ्नो काम गर भनेर संघर्षमा उत्रिनुपर्ने ?’ उनी प्रहरीले पहुँचवाला र शक्तिमा भएकाहरुका घटनामा मात्रै संवेदनशील भएर प्रस्तुत हुने गरेको बताउँछन् ।

हिंसामा परेर ज्यान गुमाएका महिलाको मृत्युको विषयमा बाँके प्रहरीले आरोपितमाथि अनुसन्धान नगरेको भन्दै न्याय माग्न हिँडेका पीडित परिवार र अधिकारकर्मी शनिबार बुटवलमा मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिदैं ।
निर्मला पन्त हत्यादेखि अहिलेसम्मका केही घटना हेर्ने हो भने प्रहरीबाट जान अन्जानमा गल्ती भएकै देखिन्छ । अनुसन्धानमा सुरुवाती बिन्दुमै प्रहरी सिरियस नहुँदा घटना सहज हुनुको साटो झन् उल्झन्मा पर्दै गएका देखिन्छन् । यस्तो हुनुमा समाज अनगाइडगेट भएको बताउँछन् प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवर ।
‘अनुसन्धान भन्दा पनि दवाव दिएपछि मात्रै काम हुन्छ भन्ने भ्रम जनतामा पर्दै गएको छ । केही सचेतना हामीले पनि फैलाउन नसकेकै हौं । तर, नागरिकले सोचेजस्ता प्रहरीले पूरै लापरबाही भने गर्दैन’, उनी भन्छन् । बाँकेका दुई घटनाबारे उनी प्रहरी अनुसन्धान प्रभावित पार्नेगरी बढी प्रचार गरिएको बताउँछन् । उनले थपे, ‘एउटा महिलाको आत्महत्याको घटना थियो । मैले पनि बुझेको हो । सबै कोणबाट आत्महत्या नै पुष्टि हुन्छ । अर्को बेपत्ताको कुरा छ प्रहरी अनुसन्धानमै छ ।
यसमा केही समय पनि लाग्न सक्छ । तर, नागरिकहरु किन सडकमा ओर्लिरहेका छन् । त्यो बुझ्न सकिएको छैन ।’ नाबालिका दुर्घटनाबारे भने आफूले बुझ्ने कुँवर बताउँछन् । पछिल्लो समय बिना आधार छाप्ने अनलाइन र युट्युवरका कारण पनि नागरिकहरुले प्रहरीमाथि शंकाको नजरले हेर्ने गरिएको उनको बुझाइ छ ।
‘प्रहरीले आफ्नो कोणबाट अनुसन्धान गरिरहेकै हुन्छ । तर, घटना तोडमोड हुनेगरी नै युट्युवरको प्रवेश हुन्छ । अनि ट्वीष्ट ल्याइन्छ । हामीले सञ्चारमन्त्रालयमा पनि यसबारेमा पत्राचार गरिसकेका छौं । यस्ता हल्लामा नलाग्न नागरिकलाई पनि अनुरोध गरिहेकै छौं ।’









प्रतिक्रिया दिनुहोस्