नेकपा एमालेको लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको छ ।
प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सह–सचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको हो ।
एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा भएको बैठकले प्रदेशका १२ वटै जिल्लाका सबै कमिटीलाई जेठ २ को अवस्थामा फर्काउने एमाले स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै नेकपा एकतापछि जोडिएका नेता कार्यकर्तालाई उचित व्यवस्थापनको खाका बनाइएको छ ।
१५ असारमा एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो । सोही निर्णय जिल्लास्तरमा समेत कार्यान्वयनमा लैजाने गरी छलफल चलेको हो ।
यसो गर्दा २०७५ जेठ २ अघि जो जिल्ला अध्यक्ष र पदाधिकारी थिए उनीहरु नै पुनः स्थापित हुनेछन् । प्रदेश कमिटीमा स्वतः सदस्य हुने जिल्ला अध्यक्षहरु राखेर केन्द्रलाई अध्यक्ष तोक्ने अधिकार दिने या बैठकबाटै टुंगो लगाउने भन्नेबारेमा छलफल चलिरहेको एमाले एक नेताले जानकारी दिए ।
सुदूरका दुई मन्त्री एमालेमै फर्किए
पार्टी छनोटको अन्तिम दिन मंगलबार सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजीनामा दिएका हुन् । राज्यमन्त्री गहतराजले पनि एमालेमा रहेने भन्दै मुख्यमन्त्रीलाई राजीनामा दिएकी हुन् ।
विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् ।
एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।










प्रतिक्रिया दिनुहोस्