कोहलपुर ।
बाँकेमा जिल्लामा पछिल्लो केही सातायता कोरोना संक्रमण जितेर घर फर्किनेहरुको संख्या बढ्दै जान थालेको छ । एक सातायता झन् नयाँ थपिने संक्रमितभन्दा कोरोना जितेर घर फर्किनेहरुको संख्या बढी रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । बिहीबारसम्म बाँकेमा करिब साढे १५ हजारले कोरोना जितेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । अहिलेसम्म ६ हजार ५ सय ६३ महिला र ८ हजार ८ सय ७७ पुरुष गरेर १५ हजार ४ सय ४० जनाले कोरोना जितेको उनले बताए ।
पछिल्लो २४ घण्टामा मात्रै थप १ सय ७७ ले कोरोना जितेका थिए । फोकल पर्सन ओलीका अनुसार ७६ महिला र १ सय १ पुरुष डिस्चार्ज भएका हुन् । ‘कोरोनाको दोस्रो लहरमा समेत कोरोना जित्ने बढिरहेको छ’ उनले भने, ‘पछिल्लो समय त थपिनेभन्दा पनि डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले कोरोना बिरामीको संख्या कम भएसँगै जिल्लाका अस्पतालमा बेडहरु खाली हुँदै गइरहेको बताए ।
उनका अनुसार एक सातायता जिल्लाका विभिन्न अस्पतालहरुले कोभिड संक्रमितका उपचारका लागि छुट्याएका बेडहरु खाली हुँदै गएका छन् । ‘यहाँका अस्पतालमा छुट्याइएका बेडहरु खाली हुँदै जानुले समेत कोरोना संक्रमणदर घटेको देखिन्छ’ जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘अस्पतालमा भर्ना भएका बिरामीहरु समेत डिस्चार्ज हुने क्रम बढेको छ ।’
११९ संक्रमित थप
पछिल्लो २४ घण्टामा बिहीबार १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ४४ महिला र ७५ पुरुषमा संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा ३६ महिला र ५७ पुरुष गरेर ९३, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ६ महिला र १० पुरुष गरेर १६ तथा बागेश्वरी ल्याबमा गरिएको परीक्षणमा २ महिला र ८ पुरुष गरि १० जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ३७ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
तीमध्ये ७ हजार २ सय ७ महिला र ९ हजार ७ सय ३० पुरुष रहेका छन् । बिहीबार बाँकेका प्रयोगशालामा १ सय ३३ महिला र १ सय ७६ पुरुष गरेर ३ सय ९ जना बाहिरी जिल्लाका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा थप बाँकेका अस्पतालमा ९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीका अनुसार बाँके जिल्लाभित्र ३ महिला र १ पुरुष गरेर ४ को मृत्यु भएको हो, भने ४ महिला र १ पुरुष गरेर ५ जनाको बाहिरी जिल्लाका संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।
योसँगै बाँकेका १ सय २२ महिला र १ सय ६४ पुरुष गरेर २ सय ८६ जनाको मृत्यु भइसकेको छ । बाँकेमा जिल्ला बाहिरका ८२ महिला र १ सय ८२ पुरुष गरेर २ सय ६४ को मृत्यु भएको छ । बिहीबारसम्म बाँकेमा १ हजार २ सय ११ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५ सय २२ महिला र ६ सय ८९ पुरुष रहेको बताइएको छ । ९ सय ९३ होम आइसोलेसन र ३ सय ७१ अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको समितीको तथ्यांकमा उल्लेख रहेको छ ।









प्रतिक्रिया दिनुहोस्