18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

विपन्नलाई खाद्यान्नको जोहो गर्दै ‘माओवादी केन्द्र’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८  

काेहलपुर । 

नेकपा माओवादी केन्द्रले बाँकेको कोहलपुर क्षेत्रभित्र रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । कोरोना महामारीसँगै उत्पन्न परिस्थितीले समस्यामा परेका घरपरिवारलाई दैनिक उपभोग्य सामग्री (खाद्यान्न) उपलब्ध गराईने भएको हो ।

यसअघि स्वास्थ्य सामग्री वितरण, निशुल्क शव ब्यवस्थापन तथा चिकित्सकसहित नगर क्षेत्रमा घरदैलो अभियान गर्दै आएको माओवादी केन्द्र कोहलपुर नगर कमिटिले कोरोनाका कारण लागु गरिएको बन्दाबन्दीबाट प्रत्यक्ष समस्यामा परेका घरपरिवारलाई खाद्यान्न वितरण गर्न लागेको नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवार, जनयुद्धका घाइते अपंगता भएका ब्यक्ति तथा अति बिपन्न अवस्थामा रहेका स्थानियहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराईने भएको हो । राहत वितरणकालागि पार्टीले कोरोना रहात कोष स्थापना गरी राहत संकलन सुरु गरेको न्यौपानेले बताए ।

यसअघि नेकपा माओवादी केन्द्रको अगुवाईमा बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव निशुल्क रुपमा ब्यवस्थापन हुँदै आएको थियो । स्थानिय ढुढुवा खोलामा शव ब्यवस्थापनकालागि माओवादी केन्द्रले नगर सचिव बल बहादुर खड्काको नेतृत्वमा युवाहरुको टिम समेत परिचालन गर्दै आएको छ ।

त्यसैगरी नरेन्द्र न्यौपानेको नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सक देबेन्द्र आचार्य सहितको टोलीले नगरभित्रका हरेक वडामा पुगी कोरोना संक्रमित बिरामीहरुको प्रत्यक्ष निगरानीका साथै आवश्यक परामर्शसहितको सेवा उपलब्ध गराउँदै आएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर कमिटिले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८     11:00:37 AM  |