मुलुक कोरोनाले आक्रान्त छ । कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी छ । सडक, बजार र बस्ती सुनसान छन् । अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ छन् ।
संक्रमणको डरले सबै मानिस घर भित्र खुम्चिएर बसेका छन् । मानिस एकअर्काको घरमा त के नजिक समेत जान छाडेका छन् । संक्रमणको यस्तो विषम परिस्थितीमा ठाकुरबाबाका युवा आर्जन रिजाल, जेनिश थापा, दिनेश शर्मा र दिलिप लम्साल र शुभम् भण्डारीको दैनिकी भने अरुको भन्दा भिन्नै छ ।
कापीकिताब बोकेर क्याम्पस धाउने यी युवाहरुको हातमा आजभोली कापीकिताब होइन डाडु–पन्यु देखिन्छ । कुनै भोजभतेरका लागि उनीहरुले डाडु–पन्यु समातेका भने होइनन् । ती युवाहरुले अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र उनका कुरुवाहरुको गाँसको जोहो गर्न डाडु–पन्यु समातेका हुन् ।
एकाबिहानै घरबाट निस्कने यी युवाहरु हिजोआज विरामी र कुरुवालाई खाजा खाना खुवाएर मात्र अबेर साझ घर फर्कन्छन् । ठाकुरबाबा नगरपालिका–२ रानिपुरमा ठाकुरबाबा नगरपालिकाले अस्थायी कोभिड अस्पताल संचालन गरेको छ । अस्पतालमा रहेका बिरामी र कुरुवाहरुलाई खाना खुवाउनका लागि आवश्यक भाँडाकुडा र खाद्यान्नको व्यवस्था पालिकाले गरि दिएको छ ।
खाना पकाउनका लागि अस्पतालदेखि केही पर युवाहरुले बिरामीका लागि भान्सा घर संचालन गरेका छन् । युवाहरु दिनभर बिरामीका लागि खाजाखाना बनाउनमै व्यस्त रहने गर्छन् ।
अस्पतालमा रहेका चिकित्सकको परामर्श अनुसारनै उनीहरुको खाजा र खानाको प्रबन्ध गर्दै आएका छन् । विरामीका लागि विहानको खाजामा दुघ, अण्डा, चना र चिया तयार गर्छन् । त्यस लगत्तै खानाका लागि दाल, भात, तरकारी बनाउँछन् । खानासँगै माछामासु पनि दिने गरेका छन् ।
दिउँसो फेरी खाजा तयार गर्छन् । साझ पर्न थालेपछि युवाहरु फेरी खाना बनाउन जुट्छन् । युवाहरुले अस्पतालमा खाना खुवाउने अभियान संचालन गरेपछि आफुहरुलाई निकै सजिलो भएको बिरामीका कुरुवा मध्येका एक आशाराम थारुले सुनाए ।
उनले भने, ‘घरबाट अस्पतालसम्म खाना लिएर आउँदा निकै गाह्रो हुन्थ्यो । युवाहरुले अहिले यही बनाएर दिन थालेका छन् । निकै खुशी छौ ।’ युवाहरुले दैनिक करिव ३० देखि ४० जनासम्मका लागि खाजा र खाना बनाउने गरेको युवाहरु बताउँछन् ।
नगरपालिकाको सहयोगमा युवाहरुले संचालन गरेको खाना खुवाउने अभियानमा स्थानिय युवा, व्यापारी र समाजसेवीहरुले पनि साथ दिएका छन् । पछिल्लो समय केही स्थानिय व्यापारी र समाजसेवीहरुले समाजसेवीहरुले स्वस्र्फुतरुपमा खाद्यान्न, तरकारी, दुध, अण्डा र माछामासु सहयोग गर्ने गरेको अभियानमा संलग्न युवा दिलिप लम्सालले बताए ।
अहिले सबैतिरबाट सहयोग आउन थालेपछि खाद्य सामाग्रीको अहिले कुनै अभाव नभएको लम्सालले बताए । अस्पतालका बिरामीका लागि आफन्तले घरबाट खाना ल्याउन कठिनाई भएको देखेपछि आफुहरु बिरामीका लागि भान्सा संचालन गर्न तयार भएको युवाका अगुवा आर्जन रिजालले बताए ।
रिजालले भने, ‘कसैको करकाप र देखाउनका लागि होइन । यस्तो विपतको अवस्थामा युवाले केही सेवाको काम पनि गर्नु पर्छ भन्ने मनशाय जागेर स्वस्र्फुतरुपमा सेवामा जुटेका हौं ।’
पालिकासँग समन्वय गरेर काम गरेको उनले बताए । मानव सेवाका लागि आफुहरुले संचालन गरेको अभियानमा अहिले धेरैको साथ सहयोग र स्याबासी पाउँदा काममा झनै उर्जा थपिएको अभियानका अर्का युवा जेनिश थापाले सुनाए ।
यस्तो महामारीको बेलामा आफनो स्वास्थ्यलाई जोखिममा राखेर मानव सेवामा लागेका युवाहरुको काम निकै प्रशंसनिय रहेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए । युवाहरुको कामको प्रशंसा गर्दै नगरप्रमुख श्रेष्ठले भने, ‘माहामारीको यो समयमा ज्याला दिएर पनि काममा लगाउने मान्छे पाइदैन ।
यस्तो अवस्थामा यी युवाहरु स्वयम्सेवकका रुपमा बिरामीलाई खाना बनाएर खुवाउन खटिनु भनेको ठूलो मानव सेवा हो ।’ खाना बनाउने काममा खटिएका युवाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामाग्री पालिकाले उपलब्ध गराएको नगरप्रमुख श्रेष्ठले बताए ।
नगरको कोभिड अस्पतालमा विरामी रहुञ्जेल आफुहरु खाना बनाउने काममा लागिरहने युवा आर्जन रिजालले बताए ।










प्रतिक्रिया दिनुहोस्