बिहीबार रातीदेखिको बर्षाको कारण बाँके जिल्लाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । रातीदेखि शुक्रबार बिहानसम्म परेको अविरल बर्षाका कारण जिल्लाका विभिन्न स्थानहरु डुवानमा परेका हुन् ।
बर्षाका कारण जिल्लाका केही स्थानहरु जलमग्न भएपनि मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । डुवानका कारण केही भौतिक क्षती भनेको भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास खड्काले डुवानका कारण मानवीय क्षती नभएपनि भौतिक क्षती भने भएको जानकारी दिए । अविरल बर्षाका कारण कोहलपुर, नेपालगञ्ज, राप्तीसोनारी र नरैनापुरका केही घरहरु डुवानमा परेका थिए ।
शुक्रबार दिउँसोबाट पानी पर्न रोकिएपछि डुवान परेका स्थानबाट विस्तारै पानी घट्न थालेको थियो । बिहीबारको बर्षाको कारण खासगरी विकास निर्माणका काम भइरहेका क्षेत्रहरु धेरै डुवानमा परेको राप्तीसोनारी गाउँपालिका, ६ फत्तेपुरकी चमेली बागवानले जानकारी दिइन् ।
‘यहाँ व्यवस्थित तरिकाले सडक निर्माणको काम हुन नसक्दा केही घरहरु डुवानमा परेका थिए’ उनले भनिन्, ‘मानवीय क्षती नभएपनि घरमा राखेका विभिन्न सामग्रीहरु भिजेका छन् ।’
बर्षाका कारण कोहलपुर नगरपालिका वडा १४ डिठापुरमा २४ घर डुवानमा परेको वडाध्यक्ष टेकचन हरिजनले जानकारी दिए । उनका अनुसार मानवीय क्षती कुनै नभएपनि स्थानीयहरुको घरमा पानी पसेको छ ।
‘पानीको उचित निकास नहुँदा यस्तो समस्या प्रत्येक वर्ष आउने गरेको छ’ उनले भने, ‘अब यसको दिर्घकालीन समाधानको लागी नगरपालिकाले बजेट विनियोजन गर्नु पर्ने भएतापनि बजेट विनियोजन नहुँदा समस्या आएको हो ।’ कोहलपुर नगरपालिका वडा नम्बर ५ का केहि घर डुवानमा परेका थिए ।
त्यहाँ समयमै नाला सफाई नहुँदा घरमा पानी पसेको बताइएको छ । यस्तै नेपालगञ्ज उप–महानगरपालिका भित्र केही वडाहरु समेत जलमग्न भएका थिए । नेपालगञ्जका सबै भाग अब डुवानमा नपर्ने अर्थात कुनै पनि घरमा पानी नपस्ने अनुमान गरेका यहाँका बासिन्दाले एकैदिनको झरीले उही पुरानै अवस्था महसुस गरेका हुन् । बर्षाका कारण वडा नम्बर ५ र ८ का विभिन्न टोलीहरु डुवानमा परेर केही घरमा पानी समेत पसेको स्थानीय युवा फैज हैदरले जानकारी दिए ।
यहाँका नालाकाहरु समयमा सफाई नहुने भएकाले केही समयको झरीले नै घरमा पानी पस्ने गरेको उनले बताए । वडा नम्बर ५ को बेहना टोल, वडा नम्बर ८ को तरकारी मण्डी, महेन्द्र पार्क, कुरेसी टोल लगायतका स्थानमा पानी जमेको थियो । कतीपय स्थानमा सडकमा समेत पानी जम्मा हुँदा आवतजावतमा समस्या उत्पन्न भएको स्थानीयहरुले बताएका छन् ।
नरैनापुरका केही टोलहरु समेत हुलाकी राजमार्गका कारण डुवानमा परेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले पानीले पु¥याएको क्षती विवरण संकलन भइरहेको जानकारी दिए ।
‘राती परेको बर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पानी जमेको थियो’ उनले भने, ‘मानवीय क्षती नभएपनि स्थानीयहरुका केही घरभित्र पानी पसेको थियो । त्यहाँ भएको क्षती विवरण संकलन भइरहेको छ ।’
पानी परेसँगै किसानहरु भने खुशी भएका छन् । धानको बीउ राख्दा पानी परेपछि किसानहरु खुशी भएका हुन् । पानी परेसँगै किसानहरुलाई अब धान बीउ राख्नको लागि सहज हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । अहिले विभिन्न निकायहरुले अनुदानमा किसानहरुलाई विभिन्न जातका धानका बीउहरु वितरण गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्