बाँकेमा कोरोना जित्नेको संख्या बढ्दो



कोहलपुर ।

कोरोनाको हटस्पट बनेको बाँके जिल्लामा पछिल्लो समय नयाँ थपिने संक्रमित भन्दा डिस्चार्ज हुने संक्रमितको संख्या बढिरहेको छ । करिब एक सातायता जिल्लामा नयाँ थपिने संक्रमितको संख्याभन्दा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको हो ।

पछिल्लो दुई दिनयताको तथ्यांकले समेत त्यही देखाउँने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । अहिले नयाँ थपिने संक्रमितको तुलनामा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या बढी नै रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा बुधबार ५ सय २३ जना कोरोना जितेर घर फर्किएका थिए । तीमध्ये कोरोना जित्नेहरुमा २ सय २६ महिला र २ सय ९७ पुरुष हुन् ।

पछिल्लो २४ घण्टामा बिहीबार ४ सय ७५ जना कोरोना जितेर डिस्चार्ज भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले बताए । ‘बिहीबार समेत थपिनेभन्दा डिस्चार्ज हुनेहरुको संख्या नै बढी रह्यो’ उनले भने, ‘२ सय ३१ महिला र २ सय ४४ पुरुषहरुले कोरोनालाई जित्नुभयो ।’ बिहीबार साँझसम्म बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या १३ हजार ६ सय ८६ पुगेको छ ।

तीमध्ये ५ हजार ७ सय ७८ महिला र ७ हजार ९ सय ८ पुरुष रहेका छन् । बुधबार बाँकेमा ४७ महिला र ४४ पुरुष गरेर ९१ जना मात्रै नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो २३ घण्टामा ४ सय ७५ डिस्चार्ज हुँदा जिल्लाका दुई प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८८ संक्रमित थपिएका थिए । तीमध्ये ७७ महिला र १ सय ११ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ६ हजार ८ सय ५० महिला र ९ हजार २ सय ४४ गरेर १६ हजार ९४ पुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालमा ६ संक्रमितको उपचारको क्रममा मृत्यु भएको थियो । बाँके जिल्लाका भित्रका ३ महिला र ३ पुरुष गरेर ६ जना तथा जिल्ला बाहिरका १ महिला र ५ पुरुष गरेर ६ जना रहेका छन् ।

अहिलेसम्म जिल्लाभित्र र बाहिरका गरेर ४ सय ७४ जनाको मृत्यु भइसकेको छ । तीमध्ये जिल्लाभित्रका २ सय ५९ र जिल्ला बाहिरका २ सय १५ रहेका छन् । बिहीबार साँझसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ९ सय ६२ महिला र १ हजार १ सय ८७ गरेर २ हजार १ सय ४९ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

होम आइसोलेसनमा रहेको संख्या ८ सय २५ महिला र ९ सय ८६ पुरुष गरेर १ हजार ८ सय ११ रहेको छ । ४ सय ५८ अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार