लमजुङमा बुधबार बिहान गएको भूकम्पले सात घर भत्किनुका साथै चार जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियाे ।
भूकम्पले मर्स्याङ्दी गाउँपालिकामा क्षति पुगेको मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर बिकले बताए । उनका अनुसार केही घरमा क्षति भएको र केही स्थानीय घाइते भएका छन् ।
लमजुङका डिएसपी गङ्गा बहादुर थापाले घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेमा ४० वर्षीया उमा गुरुङ, बेंसीसहर–११ रामचोकबेंसीकी ८३ वर्षीया खवाकुमारी पाण्डे घाइते भएका छन् ।
यस्तै मर्स्याङ्दी ६ ठूलोबेसिका गोबिन्द अधिकारी, बेसिसहर-८ ओख्लेफाटका २९ वर्षीया खुशीमाया गुरुङ भाग्ने क्रममा घाइते भएका छन् । घाइते भएका चार जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
भूकम्पको पराकम्प आउने क्रम जारी रहँदा मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । कोरोना संक्रमणको अवस्थामा घरमै सुरक्षितका साथ बस्दै आएका नागरिक भूकम्पको डरले मास्कविना बाहिर निस्कन बाध्य भएका छन् ।
www.nayapatrikadaily.com










प्रतिक्रिया दिनुहोस्