कोहलपुर ।
पछिल्लो २४ घण्टामा शनिबार बाँकेका ठूलो संख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार १ सय ९६ जना महिला र २ सय ४१ पुरुष कोरोना जितेर घर फर्किएका थिए ।
योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या ११ हजार ६ सय ९ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । अहिलेसम्म कोरोना जितेर घर फर्किनेहरुमा ४ हजार ७ सय ९९ महिला र ६ हजार ८ सय १० पुरुष रहेका छन् ।
‘पछिल्लो समय कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या बढिरहेको छ’ उनले भने, ‘यो बाँकेबासीको लागि खुशीको कुरा समेत हो ।’ ४ सय ३७ कोरोना जितेर घर फर्किदा पछिल्लो २४ घण्टामा जिल्लामा थप ९७ कोरोना संक्रमित थपिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्लाका दुई प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४६ महिला र ५१ पुरुष गरेर ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा ३० महिला र ३१ पुरुष गरेर ६१ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १६ महिला र २० पुरुष गरि ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या एक महिना यताकै कम रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।
‘एक महिना यताकै नयाँ संक्रमित थपिने संख्या कम हो’ उनले भने, ‘भेरीको प्रयोगशालाको रिपोर्ट थपिदा संख्या केही भएपनि थपिनसक्छ ।’ योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १५ हजार १ सय ६९ पुगेको छ।
तीमध्ये ६ हजार ४ सय ४२ महिला र ८ हजार ७ सय २७ पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।
जिल्लाका दुई प्रयोगशालामा यो अवधिमा जिल्ला बाहिरका ४८ महिला र ६३ पुरुष गरेर १ सय ११ मा संक्रमण पुष्टि भएको थियो ।
सो अवधिमा बाँकेमा अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
७ जना जिल्लाभित्रका र ७ जना जिल्ला बाहिरका संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
अहिलेसम्म बाँकेमा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर ४ सय १० जनाको मृत्यु भइसकेको छ । तीमध्ये १ सय ५३ महिला र २ सय ५७ पुरुष रहेका छन् । शनिबार साँझसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ४५ महिला र १ हजार ७ सय ८३ पुरुष गरेर ३ हजार ३ सय २८ रहेको थियो ।
१ हजार ३ सय २१ महिला र १ हजार ६ सय २५ पुरुष गरेर २ हजार ९ सय ४६ होम आइसोलेसनमा रहेका थिए । ४ सय ९८ संक्रमित भने अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको
छ ।









प्रतिक्रिया दिनुहोस्