कोरोना संक्रमित आमाले आफ्नै कोखबाट जन्म दिएको नवजात शिशुलाई भने कोरोना संक्रमण नभएको पाइएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माएका हुन् । अस्पतालमा एक साताको अवधिमा मात्रै तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन् ।
पछिल्लो पटक शिक्षण अस्पतालमा मंगलबार रुकुम घर भएकी ३२ वर्षीया एक संक्रमित महिलाले पनि स्वस्थ बच्चा जन्माएकी थिइन् । मंगलबार दिउँसो सवा ३ बजे ति महिलाले २ दशमलव ७ किलोग्राम तौल भएको बच्चा (छोरी) जन्माएकी मेडिकल कलेजका उपनिर्देशक डा.नितेशकुमार कनोडियाले जानकारी दिए ।
उनका अनुसार पेटभित्र रहेको ४१ हप्ता पुरा भएको बच्चालाई शल्यक्रिया गरेर बाहिर निकालिएको थियो । ‘मेडिकल कलेजमा डाक्टरको एउटा टिमले सफलता पुर्वक शल्यक्रिया गरेर बच्चालाई निकालेको हो ।
अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य छ, बच्चा स्वस्थ छ,’ उनले भने । सुत्केरी बेथाले च्यापेपछि रुकुमबाट कोहलपुर आईपुगेकी ति महिलाको पिसिआर परीक्षण गर्दा यही बैशाख २० गते कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनी अस्पतालमै भर्ना भएकी थिईन् । उनको शल्यक्रियामा मेडिकल कलेजका प्रोफेसर डा. मिता सिंह, स्त्री रोग तथा प्रसुती विशेषज्ञ डा.कविता सिन्हा र डा.गोमा रिमाल, एनेस्थेसियोलोजिष्ट शैलेन्द्र शाक्य, डा.श्याम नन्दन शाह, स्टाफ नर्स सरस्वती श्रेष्ठ, हेमा शाही, अम्बी महरा, सहयोगी प्रेमको टिम खटिएका थिए ।
एकहप्ताकै अन्तरमा मेडिकल कलेज कोहलपुरमा तीन जना संक्रमित महिला सुत्केरी भएका छन् । अस्पताल प्रशासनका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका, ११ की २२ वर्षीया गर्भवतीको नर्मल डेलिभरी भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका, ६ की ३२ वर्षीया संक्रमितको शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।
सुर्खेतकी सुत्केरी भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । नेपालगञ्जकी महिलाको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । उनीलाई समेत अहिले कोहलपुर सारिएको छ । महिलामा शल्यक्रियामार्फत बच्चा निकालिएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
मेडिकल कलेजका उपनिर्देशक कनोडियाअनुसार अहिले गर्भपतनपछि रक्तश्राव नरोकिएकी संक्रमित महिलाको समेत अस्पतालमा उपचार भइरहेको छ ।
२४ हप्ताकी गर्भवती संक्रमित महिलाको समेत अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य नै रहेको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित महिलाले जन्म दिएका कुनै पनि शिशुमा संक्रमण देखिएको छैन ।
‘अहिले नयाँ भेरियन्टको कोरोना भाईरस एक जनालाई देखिने बित्तिकै प्रायः सबैलाई सरिरहेको छ, तर आमालाई कोरोना भएपनि पेटमा रहेको बच्चालाई सरेको देखिएन,’ मेडिकल कलेजका चिकित्सक भन्छन् ‘यो हप्तामा मात्र तीन जना कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइसकेका छन् ।’
कोरोनाको पहिलो लहरको बेला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर चार जना संक्रमित गर्भवतीको सफल शल्यक्रियामार्फत बच्चा निकालिएको अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्