नेपालगञ्ज ।
बाँकेमा एकसाता यता कोरोना भाइरस (कोभिड–१९) जितेर घर फर्किनेहरुको संख्या बढिरहेको छ । जिल्लामा संक्रमणदर समेत बढिरहेको अवस्थामा कोरोना जितेर डिस्चार्ज हुनेहरुको संख्या समेत बढिरहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा मात्र मंगलबार थप ३ सय ४२ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । कोरोना परास्त गरी डिस्चार्ज हुनेहरुमा १ सय ६० महिला र १ सय ८२ पुरुष रहेका छन ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा कार्यरत स्वाथ्यकर्मीहरु वार्ड छेउको भुईमा बसेर थकान मेटाउँदै । तस्बिरः नरेशबाबु श्रेष्ठको फेसबुकबाट
‘मंगलबार थप ३ सय ४२ जना कोरोना परास्त गर्दै डिस्चार्ज हुनुभएको छ’ उनले भने, ‘डिस्चार्ज हुनेमा ७१ वर्षिय पुरुष समेत हुनुहुन्छ ।’ लक्षण चिह्न नदेखिएका संक्रमितलाई दशौँ दिनपछि डिस्चार्ज गर्ने गरिएको फोकल पर्सन ओलीले जानकारी दिए । बाँकेमा मंगलबार साँझसम्म ७ हजार १३ जना कोरोना जितेर घर फर्किएका छन् ।
तीमध्ये २ हजार ७ सय १६ जना महिला र ४ हजार २ सय ९७ जना पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । केन्द्रको तथ्यांक अनुसार बैशाख १६ मा २ सय ४४, १७ गते २ सय ५, १८ गते २ सय ५०, १९ गते ३ सय ५ र २० गते ३ सय ४५ जनाले कोरोना जितेका थिए । यसैबीच पछिल्लो २४ घण्टामा बाँकेमा थप ५ सय २१ जना संक्रमित थपिएका छन् । जिल्ला दुई प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ सय ५५ महिला र २ सय ६६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै बाँकेमा कोरोना संक्रमित हुनेहरुको कुल संख्या ११ हजार १ सय १ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । तीमध्ये ४ हजार ५ सय ६५ महिला र ६ हजार ५ सय ३६ पुरुष रहेको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए । मंगलबार साँझसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४५ रहेको छ ।
सक्रिय संक्रमितमध्ये १ हजार ७ सय ८८ महिला र २ हजार १ सय ५७ पुरुष रहेका छन् । तीमध्ये होम आइसोलेसनमा ३ हजार ५ सय ६३ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । विभिन्न अस्पताल तथा सामुदायिक आइसोलेसनमा रहनेको संख्या ५ सय २९ रहेको छ । बाहिर जिल्लाका संक्रमित बाँकेमा उपचाररत हुने संख्या १ सय ४७ रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
मंगलबार साँझ ८ बजेसम्म जिल्लामा कोरोना संक्रमणका कारण ६१ महिला र ८२ पुरुष गरेर १ सय ४३ जनाको मृत्यु भएको थियो । बाँकेमा मृत्यु हुने बाहिरी जिल्लाका संक्रमितको संख्या १ सय २५ रहेको छ । पछिल्लो दिनमा भने बाँकेका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा सरदर दैनिक एक दर्जन बढीको मृत्यु हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्