क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग



कोहलपुर 

ब्लड क्यान्सर पीडित बालकलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । कोहलपुर वडा नम्बर १२ का सात वर्षीय क्यान्सर पीडित बालक डेभिट डाँगीको उपचारको लागि कोहलपुरका विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । डेभिटको अहिले भरतपुरस्थित वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ ।

उनको उपचारको लागि १४ लाख रुपैयाँ लाग्ने परिवारले जनाएको छ । उनलाई कोहलपुरका विभिन्न वडामा रहेको महिला सेवा समाज महिला र व्यक्तिहरुले नगद २२ हजार ७ सय ४१ रुपैयाँ सहयोग गरेका हुन् । डेभिटलाई उपचारको आर्थिक अभाव भएको विषयमा चैत्र १३ गतेको प्रथम पृष्ठमा मिसन टुडे दैनिकले ‘सात वर्षे बालकलाई ब्लड क्याक्सर’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

परिवारले मिसनमा समाचार प्रकाशित भएपछि सहयोग जुट्न थालेको जनाएको छ । बुधबार वडा नम्बर ११ मा उनलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको हो । वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा र वडा नम्बर १३ का अध्यक्ष ओम प्रकाश वलीले डेभिडकी हजुरआमा रामकली डाँगीलाई सहयोग हस्तान्त्रण गरेका थिए । डेभिडलाई कोहलपुरका विभिन्न वडामा रहेका महिला समाज सेवा परिवार सहित आर.जी. विज्ञापन सेवा काठमाडौँका मनोज घलेले सहयोग गरेका हुन् ।

यस्तै वडा नम्बर ११ का मनु थापा र सुमन थारु, वडा नम्बर ७ का अमरनाथ चौधरी, वडा नम्बर ५ का सावित्रा थारु, वडा नम्बर १२ का इन्द्रा ओली र वडा नम्बर ६ की पुजा थारुले सहयोग गरेका हुन् । नगद रुपैयाँ सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले आर्थिक रुपमा विपन्नहरुलाई सहयोग गर्नु राम्रो कुरा भएको बताए ।

उनका अनुसार सम्पूर्ण व्यक्तिहरुले फजूल खर्च बचाएर दिएमा कसैको ज्यान बच्न सक्छ । यस्तै वडा नम्बर १३ का अध्यक्ष ओलीले पनि क्याक्सर पीडित बालकलाई सहयोगको लागि अपिल गरेका छन् । उनले वडाले बालकको उपचारको लागि सिफारिस गरेको भन्दै वडाबाट पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

यता डेभिडकी हजुरआमा रामकलीले आफ्नो नातीको जीवन बचाइदिनको लागि विभिन्न व्यक्तिले सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेकी छन् । उनले नातीको उपचारको लागि लाखौँ रुपैयाँ लाग्ने भएको छ ।

त्यसैले सहयोग गरिदिन उनले सबैलाई अपिल गरिन् । उनलाई सहयोग गर्नचाहने महानुभावहरुले चुडामणी ओलीको नाममा रहेको गरिमा विकास बैंक चप्परगौडि शाखा कोहलपुरमा रहेको खाता नम्बर०७१०१८००८३७८२८००००० मा सहयोग गर्न सक्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १९ गते बिहीबार