हात्तीपाइले रोग विरुद्धको औषधी, पचास हजार बढीलाई औषधी खुवाइदैं



मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढी नगरपालिकाले पचास हजार बढीलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने गरी तयारी थालेको छ । चैत्र २० गतेदेखि सुरु हुन गइरहेको हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम अन्तरर्गत बाँसगढीमा पचास हजार भन्दा बढी नागरिकलाई औषधी खुवाउने लक्ष्य राखिएको हो । सोही अनुसार तयारी भइरहेको बाँसगढी नगरपालिका स्वास्थ्य शाखा अन्तरर्गतको हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन घनश्याम के.सी. ले जानकारी दिए ।

उनका अनुसार अभियान अन्तरर्गत नगरमा रहेका ६३ हजार १ सय १९ जनसंख्या मध्ये पचास हजार बढीलाई औषधी खुवाउने लक्ष्य लिइएको छ । शुक्रबारदेखि सुरु हुने हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम चैत्र मसान्तसम्म चल्नेछ । ‘बढी भन्दा बढी नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउनको लागि तयारी गरिरहेका छौं’ फोकल पर्सन केसीले भने, ‘कसरी बढी भन्दा बढी जनालाई औषधी सेवन गराउन सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’

विगत वर्षहरुमा कम औषधी सेवन भएको स्थानमा जनप्रतिनिधी, धर्मगुरु, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षक र युवा लगायतको सहभागिता अभियान नै सञ्चालन गरिने बाँसगढी नगर स्वास्थ्य शाखाले जनाएको छ । गत वर्षको तथ्यांक अनुसार बाँसगढी नगरपालिकामा औषधी सेवन गर्नेको संख्या सन्तोषजनक मात्रै रहेको फोकल पर्सन केसीले बताए ।

हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रमका लागि नगरपालिका भित्र ६० बढी स्वास्थ्यकर्मी र १ सय ३ जना महिला स्वास्थ्य स्वयमसेवीका परिचालन गरिनेछ । उनीहरुलाई तालिम समेत दिइसकिएको स्वास्थ्य शाखाले जनाएको छ । त्यसको लागि ६० जना स्वास्थ्यकर्मी र १ सय ३ जना महिला स्वास्थ्य स्वयम सेविका परिचालन गरीने छ ।

गर्भवती, सुत्केरी र गम्भीर बिरामी बाहेक २ वर्ष भन्दा माथिका सबैलाई नागरिकलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने फोकल पर्सन केसीले जानकारी दिए । बाँसगढी नगरपालिकामा २०६७ सालदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत १८ गते बुधबार