लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङ भालुवाङ क्षेत्रको जग्गा रोक्का आंशिक फुकुवा गरिएको हो । लुम्बिनी मन्त्रिपरिषद् बैठकले करिब ६ महिनापछि भालुवाङ क्षेत्रको जग्गा रोक्का फुकुवा गर्ने निर्णय गरेको थियो । अब जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न पाइनेछ ।
कोहलपुर ।
करिब ६ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङ भालुवाङ क्षेत्रको जग्गा रोक्का आंशिक रुपमा फुकुवा गरिएको छ । शुक्रबार बसेको लुम्बिनी मन्त्रिपरिषद् बैठकले करिब ६ महिनापछि भालुवाङ क्षेत्रको जग्गा रोक्का आंशिक फुकुवा गर्ने निर्णय गरेको हो । स्थायी राजधानी भालुबाङ क्षेत्रलाई प्रस्तावित गरेपछि गत असोज १६ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले जग्गा किनबेचमा रोक
लगाएको थियो ।
बैठकले सो बेला राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ८ र ९ मा जग्गा कारोबारमा रोक लगाएको थियो ।
शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकामा रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी आंशिक फुकुवाको निर्णय गरिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।
‘यसअघि प्रदेश सरकारले राप्ती गाउँपालिकाको पूरै र शीतगंगा एवं गढवाका केही वडाका जग्गा बेचबिखन र अंशबन्डामा रोक लगाएको थियो’ उनले भने, ‘अब रोक्का गरिएका जग्गा स्थानीय तहका प्रमुखको सिफारिसमा आन्तरिक अंशबन्डा, नामसारी र धितो राख्न मिल्ने गरी आंशिक फुकुवाको निर्णय गरिएको छ ।’
प्रदेश ५ को स्थायी राजधानी कायम गर्न प्रदेश सरकारले दर्ता गरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतबाट गत असोज २० गते पारित भएको थियो । प्रदेशसभामा उपस्थित ८२ सांसदमध्ये प्रस्तावको पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरेका थिए । त्यसपछि प्रदेशको राजधानी दाङको भालुवाङ कायम भएको थियो ।
यस्तै बैठकले लुम्बिनी प्रदेशमा आगामी वर्षका लागि ६ दिन सार्वजनिक बिदा थप गरेको छ । आगामी वर्ष बकर इद, माघी, कृष्णाष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता चौधरीले जानकारी दिए । उनका अनुसार वर्षको एक दिन स्थानीय तहले आफ्नो महत्व र आवश्यकताअनुसार बिदा दिन पाउनेछन् ।
यसबाहेक रोल्पा र रुकुम पूर्वका जिल्लामा भुम्या पूजा, तराईका ६ जिल्लामा बड्का आइतबारी, मुस्लिम समुदायलाई रमजान र भगवती जात्रामा पाल्पा जिल्लामा मात्रै बिदा दिने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए ।
हिउँदे अधिवेशन १८ गते
बुटवल ।
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि हुने भएको
छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको थियो । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले बैठकले चैत १८ मा प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय गरेको जानकारी दिए । ‘प्रदेशसभाको हिउँदे अधिवेशन चैत १८ गतेदेखि बोलाउने निर्णय भएको छ’ उनले बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘प्रदेशसभा बोलाउन प्रदेश प्रमुखलाई सिफारिस पठाउने निर्णय भएको हो ।’ यसअघि असोज २० मा प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका दाङको देउखुरी तोकिएपछि प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको थियो । त्यसपछि आउँदो १८ गते प्रदेश सरकारले हिउँदे अधिवेशन बोलाउनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । कानुन अनुसार हिउँदे अधिवेशन तैत्र २० गतेभित्र सुरु भइसक्नुपर्ने थियो । प्रदेशसभाको हिउँदे अधिवेशन स्थायी राजधानी तोकिएको दाङको राप्ती प्राविधिक शिक्षालयमा गर्ने गृहकार्य गरिएको थियो । उक्त शिक्षालयको जग्गा प्रदेशलाई ढिलो गरी प्राप्त हुँदा बैठक बुटवलमै बस्ने सम्भावना रहेको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्