बाँकेको नरैनापुरमा मंगलबार भिषण आगलागी हुँदा ६ वटा घर जलेका छन् ।
वडा नम्बर ६ मा दिउँसो आगलागी हुँदा ६ वटा घर पूर्ण रुपमा जलेका हुन् । गंगापुर चौविस विगाहका चिल्लर यादवको घरबाट सुरु भएको आगलागी अन्य ५ घरमा समेत लागेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।
ईप्रका भगवानपुरका इन्चार्ज बसन्त गौतमका अनुसार चिल्लरको घरबाट लागेको आगोले रक्षाराम यादव, रंकु यादव, मादव यादव, मोहन यादव र बुद्धराम यादवको घर समेत जलेका थिए । ‘आगलागीको कारण अझैसम्म पनि खुल्न सकेको छैन’ उनले भने, ‘मानवीय त्रुटीकै कारण आगलागी भयो की भन्ने अनुमान गरेका छौं ।
यही नै हो भन्ने अवस्था छैन । अनुसन्धान जारी छ ।’ आगलागी लगत्तै नरैनापुर गाउँपालिकाको दमकल बोलाइए पनि दमकल पुग्दासम्म सबै घरहरु जलिसकेका थिए ।
आगलागीका कारण घरमा राखिएका लत्ता कपडा, नगद रकम, अन्नपात लगायतका साम्रगीहरु जलेको स्थानीय प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षेतीको पूर्ण विवरण आउन नसकेपनि करिब १०/१२ लाखको क्षेती भएको अनुमान गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।
आगलागी दकमल, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो । आगलागी पीडितहरु छिमेकी र आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।
यसैबीच आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । त्यहाँबाट निर्वाचित संघिय सांसद महेश्वर गहतराज ‘अथक’ र प्रदेश सांसद कृष्णा केसी (नमूना) को पहलमा मंगलवार नै राहत वितरण गरिएको हो ।
पीडितहरुलाई आगलागी भएकै स्थानमा पुगेर प्रति परिवार १५ हजारका दरले नगद र बन्दोबन्दीका सामग्रीहरु दिइएको प्रदेश सांसद नमूनाले मिसन टुडेलाई जानकारी दिइन् ।
उनका अनुसार १५ हजार नगद जिल्ला प्रशासन कार्यालयबाट र बन्दोबन्दीका सामानहरु रेडक्रशले उपलब्ध गराएको हो । आगलागी पीडितलाई नरैनापुर गाउँपालिकाले खानाको व्यवस्थापन गरेको थियो ।











प्रतिक्रिया दिनुहोस्