नेपालगञ्ज विमानस्थलमा आज वृहत आपतकालीन पूर्वअभ्यास



नेपालगञ्ज ।

नेपालगञ्ज विमानस्थलमा आज शुक्रबार वृहत आपतकालिन पूर्वअभ्यास गरिने भएको छ । नेपालमा रहेका आन्तरिक विमानस्थलमध्ये नेपालगञ्ज विमानस्थलमा आज वृहत आपतकालिन पूर्वअभ्यास गरिन लागेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर आज बिहान १० बजेदेखि साढे १० बजेको बीचमा विमानस्थलमा यस्तो पूर्वअभ्यास गर्न लागिएको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार काठमाडौंमा यस प्रकारको अभ्यास नियमित हुन्छ ।

आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्याससहित पहिलो पटक कार्यक्रम गर्न लागिएको विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए ।

‘करिब आधा घण्टा हामिले विमानस्थलमा वृहत आपतकालिन पूर्वअभ्यास गर्नेछौं’ उनले भने, ‘यो अवधिमा विमानस्थल बन्द हुन्छ ।’ विमानस्थल क्षेत्र भित्र जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो गर्ने गरिएको छ ।

पूर्वअभ्यासको क्रममा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली आउने विमानस्थल प्रमुख ठाकुरले जानकारी दिए । उनका अनुसार पूर्णकालीन अभ्यासका लागि भैरहवा, धनगढी , जुम्लासहित आसपासका अन्य विमानस्थलबाट समेत प्राविधिक नेपालगञ्ज विमानस्थल पुग्नेछन् ।

वायुसेवा कम्पनीहरुले समेत यसका लागि आफ्ना विमानस्थल प्रमुखहरुलाई नेपालगन्ज बोलाएका छन् । एम्बुलेन्स तथा दमकलसमेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गर्न लागिएको हो ।

व्यवहारिक अभ्यास भएको र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे जानकारी हुने भएकाले सरोकारवाला सबैको सहभागिता सुनिश्चित गरिएको विमानस्थल प्रमुख ठाकुरले दाबी गरे ।

‘आपतकालिन पूर्वअभ्यासका बिषयमा हामीले सबै वायुसेवा कम्पनीका प्रमुखसँग समेत छलफल गरिसकेका छौं’ उनले भने, ‘बिहान निर्धारित समयमा नै पूर्वअभ्यास सुरु हुनेछ ।’

नेपालगञ्ज विमानस्थललाई नेपालको आन्तरिकतर्फ सबै मौसममा सबैभन्दा व्यस्त विमानस्थल मान्निछ । सुदुरपश्चिम र कर्णाली भेगका विमानस्थलका लागि यो हव विमानस्थल समेत हो । वृहत आपतकालिन पूर्वअभ्यासको सम्पूर्ण तयारी पूरा भइसकेको नेपालगञ्ज विमानस्थलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १४ गते शुक्रबार