भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा सुरु



नेपालगञ्ज ।

बाँके नेपालगञ्जस्थित भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बीच भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले आँखा उपचार सेवाको उद्घाटन गरेका थिए ।

समितिका अध्यक्ष धितालले भेरीमै आँखाका विरामीहरुले समेत सेवा पाउन भनेर आँखा उपचार सेवा सञ्चालनमा ल्याइएको बताए ।

‘अस्पतालमा आँखाको उपचारका लागि भनेर छुट्टै शाखा थिएन’ उनले भने, ‘अब आँखा सम्बन्धी रोगको लागि छुट्टै शाखा भएपछि विरामीहरुलाई समेत सहज हुन्छ ।’ भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा सुरु भएपछि यसक्षेत्रका नागरिकहरुले सस्तो र सुलभ सेवा पाउनेछन् । आँखा उपचारमा नेपालगञ्ज अब्बल मानिन्छ ।

फुलटेक्रामा रहेको आँखा अस्पताल पश्चिम नेपालमा मात्र होइन छिमेकी देश भारतमा समे आँखा उपचारमा चर्चित छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भेरीमा पहिलो पटक आँखा उपचार सेवा सुरु भएको जानकारी दिए ।

‘अब अस्पतालमा छिट्टै आँखाको शल्यक्रिया सेवा समेत सञ्चालन गरिन्छ’ उनले भने, ‘अहिलेलाई बहिरङ्ग सेवा सुरु हो । भविष्यमा आँखाको उपचारमा पनि भेरीलाई अब्बल बनाइनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार