बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्ग वन्यजन्तुमैत्री बनाउन माग



सुदीप अधिकारी, बर्दिया

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रम पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री बनाइनुपर्ने संरक्षणकर्मी तथा सरोकारवालाहरुले माग गरेका छन् । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा वन्यजन्तुले मान्छे मार्ने र वन्यजन्तुहरु सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढेपछि राजमार्गलाई वन्यजन्तुमैत्री बनाउनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालहरुले माग गरेका हुन् ।

निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायतका वन्यजन्तुहरुको ओहोरदोहोर हुने गर्छ । मानव–वन्यजन्तु बीच द्धन्द्ध न्युनीकरण विषयमा संवाद समूह बर्दियाले आयोजना गरेको सरोकारवालाहरु बीचको अन्तरक्रिया कार्यक्रममा वन्यजन्तुले सडक ओहोरदोहोर गर्दा वन्यजन्तुको आक्रमणबाट मान्छे र सवारीसाधनको ठक्करबाट वन्यजन्तु मारिने समस्या हुने गरेको भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न माग गरिएको हो । पछिल्लो समय मानव र वन्यजन्तु बीच द्धन्द्ध बढ्दै गएपछि संरक्षणकर्मी र सरोकारवाला सरकारी निकयका कर्मचारीहरुले निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गको स्थलगत अनुगमन गरेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत पर्ने बर्दिया निकुञ्जको कर्णाली चिसापानीदेखि अम्रेनी पोस्ट र रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनु पहल गर्नु पर्ने र तत्कालका लागि निकुञ्ज भित्र राजमार्ग किनारको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरुको माग रहेको छ ।

निकुञ्जमा वन्यजन्तुको संख्या बढेसँगै जंगली हात्ती, पाटेबाघ लगायत वन्यजन्तुको बासस्थानमा बाधा पुगेका कारण पनि उनीहरु आक्रामक बन्न थालेको हुन सक्ने संरक्षणकर्मीहरु बताउँछन् । मानव–वन्यजन्तु बीच द्वन्द्व बढ्न नदिई सहअस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री सडक बनाउनु पर्ने संरक्षणकर्मीको भनाइ छ ।

पाटेबाघ लगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउन जरुरी रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए ।
दिगो समाधानका उपायका लागि कस्तो खालको वन्यन्तुमैत्री संरचना निर्माण गर्दा उपयुक्त हुन्छ त्यस्तै खालको वन्यजन्तुमैत्री संरचना (अण्डरपास) वा (ओभरपास) निर्माणका लागि वन्यजन्तु संरक्षण विभागसँग पहल भईरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार