शुभाकर विश्वकर्मा, कोहलपुर
कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीकी १६ वर्षीय रेनुका अधिकारी माघ २५ गते घरबाट डान्स क्लब जान भनेर निस्किइन् । दिउँसोको चार बजे घरबाट निस्किएकी उनी हालसम्म परिवारको सम्पर्कमा छैनन्। चप्परगौडीस्थित ज्ञानज्योती माविमा अध्ययनरत उनको अवस्था अहिलेसम्म अज्ञात छ । साँझसम्म घर नफर्किएपछि उनको परिवारले खोजी ग¥यो । साता बित्न लाग्यो उनी कहाँछिन्, कस्तो अवस्थामा छिन्, कुनै अत्तोपत्तौ छैन । उनको परिवारले रेनुकाको खोजी कार्य जारी राखेको छ ।
भने प्रहरीले समेत खोजिगरिरहेको छ । रेनुकाको परिवारले इलाका प्रहरी कार्यालय कोहलपुरमा २७ गते खोजतलासका लागि भन्दै निवेदन दर्ता गराएको थियो । परिवारको तर्फबाट रेनुकाका बुबा बेदप्रसाद अधिकारीले निवेदन दर्ता गराएका थिए । उनका दाई अर्जुन अधिकारीले खोजी गर्नको लागि धेरै ठाउँमा आग्रह गरिएको बताए ।
उनका अनुसार घरबाट हराएको एकदिन पछि काठमाडौँमा छु भनेकी थिइन् ।त्यसपछि उनको कसैसँग सम्पर्क हुन सकेको छैन । रेनुकाकी आमा अहिले बैदेशिक रोजगारीको क्रममा ओमनमा छिन् । उनीसँग पनि भिडियो च्याटमा घरबाट बाहिर निस्कनु भन्दा अगाडि भेट भएको जनाइएको छ । उनकी आमाले पनि अहिले छोरीको खोजीको लागि अपिल गरेकी छन् ।
यस्तै कोहलपुर २ विकासनगरकी १४ वर्षीया उषा विसी घरबाट हराएको एक महिना भयो । उनी माघ ५ गते स्कूल जान्छु भनेर गएपछि बेपत्ता भएकी थिइन् । उनको पनि अहिलेसम्म अवस्था अज्ञात छ । उनको परिवारले छोरी हराएको भन्दै ७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा खोजी गरिदिनको लागि निवेदन दर्ता गरेको छ । घरकी एकमात्र छोरीकी रुपमा रहेकी उनको बारेमा अहिले पनि केही पनि थाहा नभएको परिवार बताउँछ । हराएकी बालिका उषाकी आमा गोपीपुरा विक लामो समयसम्म छोरी सम्पर्कमा नरहेको बताइन् । उनका अनुसार स्कूल जान्छु भनेर गएकी छोरी अहिलेसम्म नफर्किपछि धेरै तनाव भएको छ ।
उषाको खोजी कार्य जारी राखेपनि अहिलेसम्म कतैबाट पनि उनको अवस्थाको विषयमा जानकारी प्राप्त नभएको पाइएको छ । उनी भन्छन्,‘मेरी सोझी छोरी, कहाँ होलिन । कसैले बेचिदिए की । मारिदिए की । कसरी बसेकी होलिन् । खाना खाएकी होलिनकी नाई । प्रहरीमा रिपोट गरेका छौँ । अहिलेसम्म केही पनि भनेका छैनन् । मेरी छोरी खोजिदिनु प¥यो।’ उनले हराएको तीनदिनसम्म उषाले प्रयोग गर्दै आएको फोन लागेपनि त्यसपछि फोन पनि नलागेको बताइन् । जतिपटक फोन गर्दा समेत उनले फोन नै नउठाएको आमा गोपीपुराले जानकारी दिइन् । उनको घरको आर्थिक अवस्था कमजोर छ ।
उषाका बुबा तिलबहादुर बुढाथोकी मजदुरी गर्छन् । मजदुरी गरेर कमाएको पैसाले छोरीलाई पढाउँदै आएको उनको भनाइ छ । उनी कृष्ण माविमा अध्ययन गर्थिन् । इलाका प्रहरी कार्यालय कोहलपुरले दुवै जनाको खोजी कार्य जारी राखेको जनाएको छ । डिएसपी रविन्द्र खनालले दुवै जनाका आफन्तले खोजीदिनको लागि जाहेरी दर्ता गराएको उनले जानकारी दिए ।
अहिले दुवै जनाको खोजीको लागि विशेष टोली परिचालित गरिएको उनले बताए । प्रहरी नायब उपरीक्षक खनालका अनुसार दुवै जनाको मोबाइलको कल डिटेल मगाइएको छ । अन्य तरिकाबाट पनि अनुसन्धान भइरहेको र मोबाइल सम्पर्कमा आधारमा समेत अवस्था पहिचानको कार्य भइरहेको उनको भनाइ छ ।‘दुवै जनाको परिवारबाट खोजी गरिदिन निवदेन परेपछि नै हामीले प्रक्रिया थालेका छौँ। सोधपुछका लागि दुवै बालिकाका सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने कार्य भइरहेको छ ।
मोबाइल डिटेल मगाई कार्य भइरहेको छ । अब सोही अनुसार प्रक्रिया अघि बढ्छ । उनीहरुलाई पत्ता लगाउन हामी लागि परेका छाँै ।’उनले भने । उनले पछिल्लो समय यस क्षेत्रमा महिला तथा बालबालिका हटराउने क्रम बढेको पनि बताए । ती बालिका तथा महिलाहरुको सुरक्षाको लागि प्रहरीले अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । यता इलाका प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको तथ्यांक अनुसार यस क्षेत्रमा महिला तथा बाललिकाहरुको हराउने क्रम बढेको पाइएको छ ।
आर्थिक वर्ष २०७७÷०८७ को पुस मसान्त सम्म कुल ८४ जना महिला, बालक र बालिका हराएका छन् । ती मध्ये ५२ जना महिला, ८ जना बालक र २४ जना बालिका रहेका छन् । हराएका मध्ये ४७ जना महिला, ६ जना बालक र २४ जना बालिका भेटिएका छन् ।अहिलेसम्म ६ जना महिला र २ जना बालक नभेटिएको सेवा केन्द्रले जनाएको छ । यस्तै अहिलेसम्म ८ जना महिला, बालक र बालिका अलपत्र अवस्थामा फेला गरेका छन् । फेला पर्नेमा सबैभन्दा बढी ४ बालिका, ३ बालक र १ जना महिला रहेका छन् । उनीहरुलाई जिल्लामा मानव सेवामा कार्यरत सं संघ संस्थाहरुमा जिम्मा लगाइएको छ ।










प्रतिक्रिया दिनुहोस्