बालिकाको बलात्कारपछि हत्या



कोहलपुर ।

भारतको बिहार राज्यमा एक १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । बर्दिया बारबर्दिया नगरपालिका– ३ घर भएकी बालिकाको बिहारको पूर्वी चम्पारण जिल्लामा सामूहिक बलात्कारपछि हत्या भएको हो । बिबिसी हिन्दीका अनुसार घटना गत जनवरी २१ तारिखको हो । बर्दियाबाट एक जना नेपालीको परिवार मजदुरीका लागि त्यहाँ गएको थियो ।

सात वर्षदेखि उनीहरू मोतिहारीको कुन्डवा चैनपुरमा मजदुरी गर्थे । घटना हुनुअघि ती बालिकाकी आमा नेपाल आएकी थिइन् । २१ जनवरीमा उनका बुवा मजदुरी गर्न गएका थिए भने दाइ कामको शिलशिलामा बजार गएका थिए । साँझ चार बजेतिर डेरामा फर्किन लागेका दाइलाई घरबेटी सियाराम साहले रोक्न खोजे । उनी नरोकिएर डेरामा पुग्दा बहिनी घाइते भएर लडिरहेको देखे । बहिनीको यस्तो हालत देखेपछि उनले बुवालाई खबर गरे । काम छोडेर उनी तत्काल डेरामा आए । ‘मेरी छोरी भुइँमा लडिरहेकी थिई । उसको घाँटीमा रातो दाग थियो । मैले उसलाई उपचार गर्न स्थानीय डाक्टरहरूकहाँ लगें तर कसैले उपचार गर्न मानेनन्,’ बिबिसी हिन्दीका अनुसार उनका बुवाले घटनाको १२ दिनपछि प्रहरीलाई दिएको निवेदनमा भनिएको छ ।

उपचार नपाएपछि ती बालिकाको मृत्यु भयो । मृत्युपछि गाउँका युवाहरू भेला भए । पीडितका बुवाका अनुसार प्रहरी अधिकारीको मिलेमतोमा उनीहरूले छोरीको लास जबरजस्ती जलाउन लगाए । स्थानीय देवेन्द्रकुमार साहले बालिकाको शव तत्काल नजलाए बाबु र छोरालाई पनि मारेर लास नेपाल फालिदिने धम्की दिएको निवेदनमा उल्लेख छ । शव जलाउनुअघि पीडितका बुवालाई उनीहरूले खाली कागजमा साइन गर्न पनि लगाएका थिए । ‘राति १२ बजे छोरीको लासमा नुन र चिनी छर्केर जलाइयो । अर्को दिन बिहान मलाई नेपालतिर पठाइयो,’ उनको निवेदनमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धान र केही दिनअघि लिक भएको एउटा अडिओले उक्त घटनामा स्थानीय प्रहरी चौकीका प्रमुखले सघाएको खुलेको हो । पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले बिबिसीसँग भनेका छन्, ‘भाइरल भएको अडिओबाट थानाध्यक्ष सञ्जीवकुमार रञ्जनको लापरबाही र कर्तव्यहिनता स्पष्ट हुन्छ । उनलाई निलम्बन गरिएको छ र उनीविरूद्ध एफआरआई दर्ता भएको छ ।’ भाइरल भएको अडिओमा सञ्जीवकुमारले एक जना अभियुक्तलाई ‘केटीको लासको व्यवस्था गरिदेऊ र चिसोका कारण मृत्यु भएको प्रहरीलाई रिपोर्ट लेखाइदेऊ’ भनेका छन् ।

बिबिसीका अनुसार घटनाको १२ दिनपछि प्रहरीमा परेको उजुरीमा ११ जनालाई अभियुक्त बनाइएको छ । त्यसमध्ये पाँच जनालाई सामूहिक दुष्कर्म र हत्याको आरोप छ भने बाँकी सात जनालाई प्रमाण नष्ट गरेको अभियोग छ । एसपी झाले बिबिसीलाई बताएअनुसार अहिलेसम्म २ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरूलाई बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा चलाइएको छ । पोष्टमार्टम नगरी शव जलाइएकाले उनको हत्या कसरी भएको थियो भन्ने खुल्न नसकेको भारतीय प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार रजौरेले आफुहरुले पनि घटनाबारे मिडियाबाट जानकारी पाएको बताए । ‘हामीले पनि मिडियाबाट जानकारी पाएका हौं’ उनले भने, ‘घर यता भएपनि बालिकाका आमाबुबा उतैतिर बस्ने गरेको थाहा हुन आएको
छ ।’ ‘अहिलेसम्म खासै केही जानकारी पाउन सकिरहेका छैनौं’ प्रहरी उपरीक्षक रजौरेले भने, ‘घटनास्थल भारतमा नै रहेकोले उतै मुद्दा दर्ता भएको जानकारी प्राप्त भएको छ । घटनाबारे भारतीय प्रहरीसँग समन्वय गरेर बुझिरहेका छौं ।’

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २७ गते मंगलबार