कोहलपुर प्रहरीको स्वीप अभियान, अपराधमुक्त कोहलपुर



अभियानको क्रममा लागू औषध र सामाजिक अनुशासन र सडक दुर्घटना र समाधानका उपाय तथा चोरी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

डिल्ली शाही ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले ‘१५ दिने स्वीप अभियान’को शुरुवात गरेको छ । समाजमा भरपर्दो र प्रभावकारी सुरक्षा दिने लक्ष्यसहित माघ २१गतेदेखि कोहलपुर प्रहरीले ‘१५ दिने स्वीप अभियान’ शुरुवात गरेको हो । समाजमा शान्ति सु–व्यवस्था तथा अमनचयन कायम गर्ने अभियानको उद्देश्य रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र्र खनालका अनुसार सडक दुर्घटना,लागू औषध दुव्र्यसनी तथा सामाजिक अनुशासन खल्बलाउनेहरुलाई कारबाही गर्नु अभियानको लक्ष्य रहेको छ । भर्खरै मात्र कोहलपुर प्रहरीको नेतृत्व सम्हालेका खनालले प्रहरी गतिविधि चुस्तद्रुस्त बनाउने समेत बताएका छन् ।

उनले आम नागरिकमा प्रहरी प्रतिको आशा र भरोसा बृद्धि गर्न र अपराध नियन्त्रणको लागि अभियान शुरुवात गरिएको जानकारी दिए । अभियान अन्तर्गत विभिन्न खाले अपराध विरुद्ध सक्रिय रुपमा अघि बढ्ने उनको भनाइ छ । उनले आफू कोहलपुरमा आएसँगै विभिन्न सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरिएको समेत बताए । सबैजनाबाट लागू औषध, सडक दुर्घटना र चोरी लगायतका विषयहरु समस्याका रुपमा आएको प्रहरी नायब उपरिक्षक खनालले बताए । ‘सरोकारवालाबाट धेरै कुरा आएका छन् । सामाजिक अनुशासन लगायतका विषय पनि आएको छ ।त्यसको आधारमा हामीले प्राथमिकताहरु पनि बनाएका छौ ।

सोही अनुसार यो अभियान सञ्चालन भएको छ ।’ उनले भने ।कोहलपुर क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि अनुशासनको दायरामा राख्न प्रहरीले सहयोग गर्नुपर्ने कुराहरुमा सरोकारवालाले सुझाव दिएको उनले बताए । यस्तै आफूहरुले चोरी,डकैती विरुद्धपनि सक्रियता बढाएको उनले अवगत गराए ।

आम नागरिकबाट आएका समस्या समाधानका लागि आफू योजनाबद्ध रुपमा अघि बढ्ने खनालले बताएका छन् । तत्काल तीन वटा प्राथमिकताका क्षेत्र निर्धारण गरिएको उनले जानकारी दिए । लागू औषध र सामाजिक अनुशासन, सडक दुर्घटना र समाधानका उपाय तथा चोरी नियन्त्रण आफ्ना अल्पकालीन योजना रहेको सुनाए ।

कोहलपुर ट्रान्जिट सेन्टर भएको र यहाँ विभिन्न क्षेत्रका मानिसहरुको बसोबास र आवातजावत रहेको हुँदा यी तीन वटा विषयहरु मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो । यसैगरी समय सन्दर्भ अनुसार उठान हुने समस्या तल्काल समाधानको लागि सधै पूर्वतयारी अवस्थामा रहनेछ । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै खनालले अपराधमुक्त कोहलपुर बनाउने उद्देश्य अनुरुप अभियान सुरु गरिएको बताए । अभियानको क्रममा आफूहरुले दैनिक ठुलो संख्यामा जनशक्ति परिचालन गरिएको पनि उनको अवगत गराए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले अभियानकै लागि दैनिक १५ देखि २५ जना जनशक्ति परिचालन गरिरहेको छ । उनी भन्छन्,‘अभियान तीव्र रुपमा चलिरहेको छ । अहिले हामीले दैनिक रातीको समयमा होहल्ला गर्ने, मापसे गरेकाहरुलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गर्ने गरिरहेका छौ ।समाजमा रहेका सबै अपराधिक क्रियाकलाप बढार्ने हाम्रो उद्देश्य हो ।’यसैगरी उनले कोहलपुर प्रहरीको १ वर्षे योजना समेत निर्माणको क्रममा रहेको जानकारी दिए । सबै प्रकारका असामाजिक गतिविधि बढार्ने अभियान फागुन पाँच गतेसम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २६ गते सोमबार