देशभर जनजीवन प्रभावित



कोहलपुर ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आम हडतालको देशभर जनजीवन प्रभावित बनेको छ । पुस ५ गतेको संसद विघटन र माघ २१ गते सरकारले गरेको संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरुको सपथ ग्रहण गैरसंवैधानिक रहेको भन्दै पूर्ण रुपमा असहमति जनाउँदै प्रचण्ड–नेपाल पक्षले गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको हो । आम हडतालका क्रममा उक्त पक्षका १ सय ५७ जना नेता नेता,कार्यकर्ता पक्राउ गरेका छन् । नियम उल्लंघन गर्ने १५ सवारी साधन तोडफोड गरिएको छ । भने एउटा ट्याक्सीमा आगजनी भएको प्रहरी मुख्यालयले जनाएको छ ।

देशभरको आ¬ंकलनमा भने पुर्वी जिल्लामा सबैभन्दा बढी प्रभाव देखिएको छ । जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नेता रामचन्द्र झा सहित केही घाइते भएका थिए । जनकपुरमा प्रहरीले स्थिति नियन्त्रणमा लिन २७ राउण्ड हवाई फायर र १२ राउण्ड टियर ग्यास प्रहार गरेको थियो । आमहडताल सफल बनाउन प्रचण्ड, माधव नेपाल सहितका नेता कार्यकर्ताहरु सडकमै आएर सरकारका विरुद्ध नारा लगाएका थिए । काठमाडौँसहित जनकपुर, विरगन्ज र विराजनगर बाहेक देशका अन्य स्थानमा सामान्य रुपमा हडताल सम्पन्न भएको हो । यस्तै लुम्बिनी, सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भने आन्दोलनको आंशिक प्रभाव प¥यो । कर्णाली प्रदेशको सुर्खेतमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित अन्य मन्त्री समेत सडकमा आएका थिए ।

कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र दैलेख लगायतका जिल्लामा बन्दको सामान्य प्रभाव परेको त्यहाँका पत्रकारहरुले जानकारी दिएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशमा समेत सामान्य प्रभाव देखिएको थियो ।यसैगरी बाँके जिल्लाका नेपालगञ्ज र कोहलपुर लगायतका ठाउँमा सामान्य प्रभाव देखिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले बन्दको सामान्य प्रभाव देखिएको जनाएको छ । बाँकेमा कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक टक्कर स्वाँरले बताए ।

बाँकेमा यातायातका साथै शैक्षिक संस्थाहरु भने प्रभावित भएका थिए । यद्यपी बाँकेका नेपालगन्ज र कोहलपुरमा भने दिनभर प्रदर्शनकारीहरुले चक्काजाम गरेका थिए । बन्द सफल भएपछि चौराहामा आयोजना गरिएको कोण सभामा बोल्दै नेकपा बाँकेका सचिव तथा नेकपा प्रचण्ड–नेपाल समुहका नेता अशोक कोइरालाले वर्तमान सरकारले गरेको असंवैधानिक र संविधान विपरित कार्यलाई सच्चाउन दबाब दिनको लागि बन्दको आह्वान गर्नु परेको बताए । बाँकेमा दुई सय जना भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २३ गते शुक्रबार