पालिकामा काँग्रेसको प्रदर्शन



कोहलपुर ।

प्रतिनिधि सभा विघटनको विरोधमा देशभरका स्थानीय तहमा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार नै बाँकेसहित देशभरका पालिकाहरुमा शनिबार विरोध प्रदर्शन गरिएको हो ।

बाँकेका नेपालगन्ज, खजुरा, कोहलपुर, डुडुवा जानकी लगायतका पालिकाहरुमा काँग्रेसले संसद विघटनको विरोधमा प्रदर्शनसहित विरोध सभा गरेको थियो । नेपाली काँग्रेस कोहलपुर नगर कमिटिको आयोजनामा कोहलपुर बजारमा समेत प्रदर्शनसहित विरोध सभा गरिएको हो ।

नगर पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन पिपल चौतारा, साझा चोक, एनटिभी चोक हुँदै फेरी साझा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनपछि भएका कोणा सभामा बोल्ने नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको चर्को विरोध गरेका थिए । संविधानको रक्षाका लागि समेत काँग्रेस आन्दोलनमा जानुपर्नेमा उनीहरुको जोड थियो । प्रधानमन्त्री ओलीलाई सडकबाट नै नेपाली काँग्रेसले घुँडा टेकाउने नेताहरुले चेतावनी दिए ।

पालिकाहरुमा भएका विरोध सभालाई सम्बोधन गर्नको लागि केन्द्रीय नेतादेखि जिल्ला तहका नेताहरु पुगेका थिए । बाँकेको डुडुवा र नेपालगन्जमा भएको विरोध सभालाई केन्द्रीय नेताले सम्बोधन गरेपनि अन्य पालिकामा भएको विरोध सभालाई जिल्लास्तरीय नेताहरुले सम्बोधन गरे ।

यसैगरी बर्दियाका विभिन्न पालिकाहरुमा समेत संसद विघटनको विरोधमा शनिबार नै नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको थियो । जिल्लाका गुलरिया, बाँसगढी, राजापुर लगायतका पालिकाहरुमा काँग्रेसले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनसहित काँग्रेसले विरोध सभा गरेको थियो । शुक्रबार पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गरेको हो । पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाली काँग्रेस लगायतका दलहरु आन्दोलित रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ४ गते आइतबार