बाँकेमा ८ संक्रमित थपिए



कोहलपुर ।

बाँकेका पछिल्लो २४ घण्टामा बुधबार ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ हजार ५ सय २६ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार जिल्लाका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ७ जना र कोहलपुरस्थित बागेश्वरी प्रयोगशालामा गरिएको पीसीआर परीक्षण १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

बुधबार पछिल्लो २४ घण्टामा ८ संक्रमित थपिदा थप ३ जना कोरोना जितेर घर फर्किएका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेहरुको संख्या ४ हजार ३ सय ६२ जना पुगेको छ । जिल्लाभर बुधबार साँझसम्म संक्रिय संक्रमितको संख्या १ सय १६ जना रहेको थियो ।

जिल्लामा रहेका कोरोना अस्पतालका कोभिड वार्डमा उपचार संक्रमितमध्ये १९ जनाको अवस्थामा गम्भीर रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

१५ जनाको अवस्थामा भने मध्यम रहेको बताइएको छ । जिल्लाका कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४८ जना पुगेको केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ १ गते बिहीबार