कक्षा ११ को नयाँ अंग्रेजी पाठ्यक्रमबारे शिक्षकहरुलाई अभिमुखीकरण



कोहलपुर/  बाँकेको कोहलपुरमा कक्षा ११ को परिवर्तित अंग्रेजी पाठ्यक्रमबारे अभिमुखीकरण तथा अंग्रेजी भाषा शिक्षकहरुको अनुभव आदान प्रदान कार्यक्रम गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गठन गरेको शिक्षक सिकाइ केन्द्रको आयोजनामा कोहलपुर क्षेत्रका शिक्षकहरुका लागि अभिमुखीकरण आयोजना गरिएको हो । शनिबार आयोजना गरिएको कार्यक्रममा कक्षा ११ को नयाँ अंग्रेजी पाठ्यक्रमबारे शिक्षकहरुलाई अभिमुखीकरण गराइनुका साथै उनीहरुका अनुभवहरु समेत आदान प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले समयलाई व्यवस्थापन गर्न सके सिकाइ केन्द्रमा आएर सिक्न गाह्रो नरहेको बताउँदै व्यक्तिगत अनुभव तथा क्षमता अभिवृद्धि हुने बताए । उनले शिक्षकहरुको सहजनाताका लागि तालिम तथा गोष्ठीहरु सञ्चालन गर्न त्रिभुवन नमुना माविमा श्रोत केन्द्रका रुपमा रहेको भवनलाई शिक्षक सिकाइ केन्द्रका रुपमा विकास गर्ने कार्य अघि बढिसकेको पनि बताए । साथै उनले कोहलपुर क्षेत्रका अंग्रेजी भाषा शिक्षकहरुको अग्रसरताप्रति खुसी समेत व्यक्त गरे ।

यस्तै नगर शिक्षा शाखा अधिकृत शिला गौतमले कार्यक्रम आवश्यकतामुखी रहेको बताउँदै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सुझाव दिइन् । कार्यक्रममा बोल्दै राम मावि हवलदारपुरका प्रधनानाध्यापक जैद अहमद खाँले शिक्षक सिकाइ केन्द्र शिक्षकहरुको संगम बनेको भन्दै उत्प्रेरित भएर काम गर्न सुझाव दिए । यस्तै जनता मावि मैटहवाका विज्ञान शिक्षक बद्री ढकालले कुनै पनि कुराप्रति भित्रिमनदेखि नै सिक्ने चासो भएमात्रै सिकाइ हुने बताए ।

अंग्रेजी भाषा शिक्षकद्वय टर्क बहादुर खत्री र विशाखर जैशीले कक्षा ११ को नयाँ पाठ्यक्रमका बारेमा अभिमुखीकरण तथा नेपाल अंगे्रजी भाषा शिक्षक संघमा आवद्ध हुनुका फाइदा, काम, कर्तव्य लगायतका बारेमा कार्यक्रममा सहभागी शिक्षकहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा कोहलपुर क्षेत्रका विभिन्न विद्यालयमा अंग्रेजी भाषा शिक्षण गराउँदै आइरहेको शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

 

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर २९ गते सोमबार