डिल्ली शाही, कोहलपुर ।
कोरोना भाइरस (कोभिड १९) का कारणले विगत ९ महिनादेखि विद्यालय खुल्न सकेका छैन । शिक्षा मन्त्रालय, प्रदेश, महानगरपालिका, नगरपालिका र गाउँपालिका अझै पनि पूर्ण रुपले खोल्न तयार छैनन् । नेपाल सरकारले एक वर्षको पाठ्यक्रम पुरा नहुने डरले २०७७ साल असार १ गतेदेखि बैकल्पिक विधिबाट अध्यापन गराउने भनी निर्देशिका प्रस्तुत गरेको थियो ।
अभिभावकले कोरोनाको डरले गर्दा विद्यालय नपठाई अनलाइनको माध्यमबाट पठाइरहेका थिए। तर बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालित एक संस्थागत विद्यालयले अभिभावकलाई आफ्ना छोराछोरीलाई अध्ययन गराउनको लागि कबुलियतनामा गराएको पाइएको
छ । कोभिड–१९ महामारीको समयमा अध्ययपन गराउनको लागि उक्त विद्यालयले अभिभावकलाई कबुलियतनामा गराउन लगाएको पाइएको हो।
‘सरकारले विद्यालय सञ्चालन गराउनका लागि कबुलियतनामा नगराए भौतिक रुपमा विद्यालय सञ्चालन नगर्नु भनेको छ ।त्यसैले तपाईले कबुलियतनामा गर्नुपर्दछ भन्नुभयो । त्यसैले मैले कबुलियतनामा गरेको छु ।’ नाम उल्लेख नगर्ने सर्तमा ती अभिभावकले भने। ‘त्यसैले मेरा छोराछोरी पठाउन पनि मैले कबुलियतनामा गरी विद्यालय पठाउने गरेको छु । त्यसो नगरे छोराछोरी पढन् पाउँदैनन् । उनीहरु शिक्षा आर्जन गर्ने अधिकारबाट बञ्चित हुनुपर्छ । ती अभिभावक भन्छन्,‘अहिले १० कक्षाको परिक्षा दिन्छ ।नपढेपछि परिक्षामा सहभागी कसरी हुन्छ । बच्चा बालबच्चाको भविश्यको लागि पनि मैले कबुलियतनामा गरेको छु ।’
उनका छोरा एक निजी विद्यालयमा कक्षा १० मा पढ्छन् । ती अभिभावकले आफ्नो छोरालाई विद्यालय पठाउनको लागि उनी पढने विद्यालय प्रशासनसँग कवुलियनामा गरेको पत्र मिसन टुडेले प्राप्त गरेको छ। उक्त पत्रमा छोराछोरी पढाउनको लागि अभिभावकले विद्यालय प्रशासनसँग ‘महामारीको कारणले मेरो छोरा÷छोरीलाई कोभिड–१९ को कुनै लक्षण देखिन गएमा सो को उपचार÷आइसोलेसन खर्च म अभिभावकले नै गर्नेछु’ भनेर बाचा गर्न लगाइएको छ ।
यतिमात्रै होइन उक्त पत्रमा ‘विद्यालय ती अभिभावकलाई विद्यालय छात्राबासका बारेमा कुनै नकारात्मक टिका टिप्पणी गर्ने छैन भनी यो कबुलियतनामा मेरो मञ्जुरी छ ।’ हस्ताक्षर सम्म गर्न लगाइएको छ । उक्त विद्यालयले उनी मात्रै होइन कोरोना कहरका समयमा छात्रबासमा अध्ययन गरिरहेका अन्य विद्यार्थीका अभिभावकलाई समेत कबुलियतनामा गर्न लगाएको स्रोतले बतायो । यो विषयमा मिसन टुडेले नगर शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्याललाई जिज्ञासा राख्यो ।
अभिभावकले आफ्ना छोराछोरी पढाउन कबुलियतानामा गराउनु पर्ने हो ? भन्ने प्रश्नमा पौड्यालले भने,‘विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र सरोकारवाला बीच संयुक्त रुपमा विद्यालय सञ्चालनको लागि प्रतिबद्धता गर्ने भनेको हो । व्यक्तिगत रुपमा अभिभावकहरुको कबुलियतनामा गराउने भनेका थिएनौ ।’ उनका अनुसार अब अनुगमन÷ छानविन गरी सम्बन्धित विद्यालयलाई कारबाही गरिनेछ ।
यता संस्थागत विद्यालयहरुको छाता संगठन क्रिया बाँकेका अध्यक्ष शिव डाँगीले नेपाल सरकारको निर्देशन अनुसार अभिभावकको अनुमति अनुसार मात्र विद्यालयमा बालबालिका अध्यापन गराउनु भनेकोले अनुमति लिएको बताए । ‘अहिले महामारीको कारणले कुनै पनि बैकल्पिक शिक्षा लिनबाट बञ्चित भएका बालबालिकाहरुलाई भौतिक रुपमा आउनका लागि उत्पे्ररित गरिरहेका छौं’ उनले भने, ‘तर अभिभावकलाई आफ्ना बालबालिकाहरुलाई जबरजस्ती विद्यालय ल्याउँ भनेर भनेका छैनौं ।’ कोभिड–१९ बाट संक्रमण भएपछि बालबालिकाहरुलाई उपचार तथा आइसोलेशन खर्च अभिभावक विद्यालय प्रशासन र नगरपालिका सबैले जिम्मेवारी हुनपर्ने उनको भनाई थियो ।
यस्तै शिक्षक महासंघका नगर अध्यक्ष रामप्रसाद चापागाँईले पनि सामुदायिक विद्यालयहरुमा कबुलियतनामा नगराएको बताए ।‘विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरुद्वारा संयूक्त रुपमा प्रतिबद्धता पत्र बनाएका छौं ।तर प्रत्येक अभिभावकलाई भने कबुलियतनामा गराएका छैनौ’ उनले भने, ‘अहिले नेपाल सरकारले तोकिएको स्वास्थ्यका मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरेका
छौं ।’ अहिले वडाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयहरुको अनुगमन गर्ने भनिएको छ तर अहिलेसम्म पनि अनुगमन नगरिएको उनको गुनासो रहेको थियो ।
कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सामुदायिक तथा निजी विद्यालयहरुका संगठन, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुले विद्यालय सञ्चालन गनुपर्ने निष्कर्ष निकालेको बताए । प्रमुख रावतले भने,‘विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरुसँग भेला गरी आफ्ना छोराछोरी विद्यालयसम्म पठाउनका लागि राजीभएपछि मात्र विद्यालय सञ्चालन गर्नु भनेका थियौं ।
कोहलपुर नगरपालिकाले २०७७ असार २८ गतेका दिन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालय सञ्चालन कार्यविधि बनाई नगर शिक्षामा पेश गर्ने निर्देशन दिएको थियो ।
सोही निर्देशन अनुसार २०७७ मंसिर १२ गतेसम्मका विद्यालय सञ्चालन कार्यविधि बनाई शिक्षा शाखामा पेश भएपछि मंसिर १४ गतेबाट विद्यालय भौतिक रुपमा सञ्चालन गरेका छन् । तर १४ गतेका दिन कोहलपुर नगर प्रमुख लुट बहादुर रावत अध्यक्षतामा बसेको बैठकले कक्षा ६ देखि १२ कक्षासम्म नगर शिक्षाको निर्देशन अनुसार सञ्चालन गराउन पाउने भनि निर्णय गरिएको छ । सो बैठकले दिउँसो समयमा टिफिन नखाने, चार घण्टा मात्र विद्यालय सञ्चालन गराउने, बस सञ्चालन नगर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्