मुख्य चाडपर्वहरु सकिएसँगै नेपालीहरु रोजगारी खोज्दै भारत जान थालेका छन् ।
केही दिनयता कामको खोजीमा भारत जाने नेपालीहरुको जमुनाहा नाकामा लर्को लाग्ने गरेको छ । मुख्य चाडपर्वहरु सकिएसँगै नेपालीहरु परिवार पाल्नको लागि रोजगारी खोज्दै भारतका विभिन्न शहर जान निस्केका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको जोखिमलाई बेवास्ता गर्दै आफ्ना लालावाला पाल्न लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट रोजगारीका लागि नेपालीहरु भारत गइरहेका छन् ।
जमुनाहा नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीले तिहारपछि दैनिक सरदर २ हजार बढी नेपालीहरु भारत गइरहेको जानकारी दिए ।
‘तिहारपछि कमाउनको लागि भारत जाने नेपालीहरुको संख्या वृद्धि भएको छ’ उनले भने, ‘दैनिक रोजगारीको लागि सरदर २ हजार बढी नेपालीहरु भारत गइरहनुभएको छ ।’
उपचार तथा रोजगारीको लागि भारत जाने नेपालीहरुको जमुनाहा प्रहरीले नाका इन्ट्री गर्ने गरेको छ । नेपालीहरुलाई भारत प्रवेशको कुनै समस्या नरहेको जमुनाहा प्रहरीका इन्चार्ज गिरीले बताए ।
‘भारतले आफ्नो तिरको नाका खोलेकाले प्रवेशमा नेपालीहरुलाई कुनै समस्या छैन’ उनले भने, ‘केही समस्या आए भारतीय सुरक्षाकर्मीसँग समन्वय गरेर हल गर्ने गरेका छौं ।’
लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका मानिसहरु यतिबेला नेपालगञ्ज नाका हुँदै भारततिर गइरहेका छन् । सरकारले नाका खुल्ला नगरेपनि भारतमा काम गर्न जाने अधिकांश नेपालीसँग आधार कार्ड रहेकाले प्रहरीले भारत जान दिइरहेको छ । ठूलो संख्याका नेपाली भारत जान थालेकाले नेपालगञ्ज नाकामा लर्को नै लागेको छ ।
चाडबाड सकिएसँगै पहाडी जिल्लाका मानिसहरु मौसमी कामका लागि भारत जान निस्किएकाले नेपालगञ्ज नाकामा भीड नै लाग्ने गरेको छ । कमाउन भारत जान लागेका सुर्खेतका गोपाल विकले आफुहरु रहले भन्दा पनि कहरले भारत पस्न बाध्य भएको बताए ।
‘लकडाउनभरी घरमै बस्दा नत सरकारले राहात दियो नत रोजगारी, परिवार पाल्न समस्या भएपछि भारत पस्न लागेका हौं’ उनले भने, ‘परिवारसँग बस्न हामीलाई पनि रहर थियो । बाध्यताले कालापहाड जाँदै छौं ।’
उनको समुहमा सिमलामा सडक बनाउने काम गर्न जाने १४ जना युवाहरु रहेका थिए । आफ्नो उत्पादनले वर्षभरी खाना नपुग्ने नेपालीहरु मौसमी कामका लागि भारत जाने गर्दछन् ।
मौसमी कामका लागि भारत जानेहरु खेती गर्ने र चाडबाड मनाउन घर फर्किने गर्दछन् । अरु बेला भारतमा काम गर्छन् । लामो समयसम्म घरमै बसे पनि देशमा रोजगारीको अवसर नभएपछि असहज परिस्थितिमा पनि आफूहरु भारत छिर्न बाध्य भएको जाजरकोटका कर्णबहादुर रावतले बताए ।
नेपालमा रोजगार नपाइने भएकाले बालबच्चाको लालनपालनकै लागि कमाइ गर्न भारत जान बाध्य भएको उनले गुनासो गरे । कर्णाली प्रदेशका रुकुम, रोल्पा, जाजरकोट, दैलेख, सल्यानका मानिसहरु यतिबेला रोजगारीका लागि भारत गइरहेका छन् । भारतको कालापहाड, सिमलालगायतका ठाउँमा जाने नेपालीको संख्या बढेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
चैत्रमा कोरोना कहरसँगै नेपालीहरु घर फर्किएका थिए । त्यतिबेला घर नफर्किएका नेपालीहरु दशै र तिहारको मुखमा घर आएका थिए । ती नेपालीहरु पुनः भारत फर्किन थालेका हुन् ।










प्रतिक्रिया दिनुहोस्