राजतन्त्रको पक्षमा प्रदर्शन



कोहलपुर ।

बाँकेको नेपालगञ्जमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्दै प्रदर्शन गरिएको छ । शनिवार विभिन्न संघ संस्थाको अगुवाईमा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगञ्जमा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा हिन्दू राष्ट्र र राजसंस्थाप्रति आस्थावान्, हिन्दूवादी संघसंगठन, शुभेच्छुक र विभिन्न अन्य राजनीतिक दलमा आवद्ध नागरिकहरुको प्रदर्शनसहितको ¥याली बागेश्वरी मन्दिर पार्कबाट सुरु भई सेतु विक चोक, पुष्पलाल चोक, विरेन्द्र चोक, विपी चोक, गणेशमान चोक, चारबाहिनी, भेरी अस्पताल चोक, त्रिभूवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै विरेन्द्र चोकमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रमा बोल्दै राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एबम नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुखसमेत रहेका डाक्टर धवलशम्सेर राणाले राजालाई गद्दीमा बसाए मात्र धर्म र संस्कृती बच्ने बताए । राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना भइछाड्ने उनले दाबी गरे ।

उनले वर्तमान सरकार र प्रतिपक्षका कारण राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने बताएका थिए । केन्द्रीय कार्य सम्पादन समितिका सदस्य डाक्टर राणाले नेपाललाई हिन्दू राष्ट्र कायम भएरै छाड्ने दावी गर्दै त्यसको नेतृत्व राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

उनले भने– ‘नेपाललाई जसरी पनि हिन्दु धर्मसहितको राष्ट्र बनाउने पक्षमा म दृढ छु, यो मेरो संकल्प हो, सिंगो नेपाललाई हिन्दू राष्ट्रका पक्षमा जगाउने गरी राप्रपाले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार