कोहलपुर ।
बाँके जिल्ला व्यापी प्रथम खुल्ला बुद्धिचल प्रतियोगिता– २०७७ सम्पन्न भएको छ । कोहलपुर नगर बुद्धिचाल संघको आयोजनामा सम्पन्न बाँकेमा पहिलो पटक प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो । प्रतियोगितामा कुल ३८ जनाको सहभिागिता रहेको थियो । विभिन्न समूह भएको प्रतियोगितामा खुल्ला तर्फ मदन वली प्रथम, सुरेश चौधरी द्धितीय, केशर वली तृतीय र राम दलारे कौशल सान्त्वना भएका थिए । समूह चरणकै महिला तर्फ निशा बस्नेत प्रथम, शोभा शाही द्धितीय र श्रृष्टि शाही तृतीय स्थान हासिल गर्न सफल भए ।
आयोजक कोहलपुर नगर बुद्धिचाल संघका अध्यक्ष संगम पोखरेलका अनुसार विद्यार्थी समूहतर्फ सविर रोकाय प्रथम र सौरव पौडेल द्धितीय भएका छन् । यस्तै क्षेत्र तर्फ कोहलपुरबाट सहभागिता जनाएका प्रतिष्पर्धी मध्ये टेकराज कँडेल प्रथम र हस्त बहादुर थापा द्धितीय र नेपालगञ्जबाट सहभागिता जनाएका चैबेन्द्र पुनमगर प्रथम भएका हुन् । १० वर्ष मुनिकाहरुको प्रतियोगितामा निशान राना प्रथम भए । प्रतियोगिताको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य सुमित्रा चौधरीको प्रमुख उपस्थिति रहेको थियो ।
उक्त अवसरमा बोल्दै उनले जिल्लास्तरमा नयाँ प्रतिभा जन्माउनको लागि राखेपले विभिन्न प्रतियोगिता गर्दै आएको बताइन् । उनका अनुसार बाँके जिल्लामा समेत बुद्धिचाललाई व्यावसायिक बनाउनको लागि केन्द्रीय स्तरमा पहल गरिनेछ । आयोजक कोहलपुर नगर बुद्धिचाल संघका अध्यक्ष पोखरेलले मानिसहरुलाई कोरोना महामारीको भयबाट मुक्त गराउन तथा मानसिक रुपमा तन्दुरुस्तीका साथै नयाँ प्रतिभा जन्माउनको लागि प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिताको समापन सत्रमा विभिन्न स्पर्धामा विजय हुनेहरुलाई पुरस्कृत गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्