राज्यमन्त्री रावतले गरे निरीक्षण



नेपालगञ्ज ।

संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले भेरी अस्पताल नेपालगञ्जको निरीक्षण गरेका छन् । सोमबार बिहान उनले अस्पतालले दिइरहेको सेवा र भौतिक संरचनाको स्थलगत रुपमा निरीक्षण गरेका हुन् । गृह जिल्ला सुर्खेतबाट काठमाडौं फर्किने क्रममा अस्पतालको निरीक्षण गर्न पुगेका राज्यमन्त्री रावतले झण्डै ९० वर्ष पुरानो संरचना भत्काएर नयाँ निर्माणका लागि योजना बनाउन निर्देशन दिएका थिए ।

सोमबार बिहान भेरी अस्पताल नेपालगञ्जको निरीक्षण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत ।

‘भेरी अस्पताल पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा रहेको छ’ उनले अगाडि थपे, ‘अब समय अनुसार अस्पतालको स्तरउन्नतीमा पनि ध्यान दिनुपर्छ । त्यसको लागि सबैभन्दा पहिला भौतिक संरचना बन्नुपर्छ । पुराना संरचनाले काम चल्दैन ।’ कोरोना संक्रमित विरामीको उपचारमा भेरी अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनले अस्पताललाई थप सुविधा सम्पन्न बनाउन पहल गर्ने आश्वासन दिए । निरीक्षणको क्रममा राज्यमन्त्री रावतले उपचारमा नयाँ प्रविधि र उपकरणको प्रयोगमा जोड् दिएका थिए ।

अस्पतालमा उपलब्ध उपकरण र भौतिक संरचनाको सहि सदुपयोग गर्न अस्पताल प्रशासनलाई उनले निर्देशन समेत दिए । राज्यमन्त्री रावतलाई भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भेरी अस्पतालले कोभिडका विरामीलाई दिँदै आएको सेवा, भौतिक संरचना, उपकरण लगायतका विषयमा जानकारी गराएका थिए । अहिले सञ्चालनमा रहेको ७२ बेडको आइसोलेसनले कोरोना संक्रमित विरामीको चाप थेग्न नसकेकोले थप ८० बेडको आइसोलेसन निर्माण भइरहेको अध्यक्ष धितालले जानकारी दिए ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले थप ८० बेडको कोभिड आइसालेसन एक हप्ताभित्र संचालनमा आउने जानकारी गराएका थिए । ‘नयाँ निर्माण भइरहेको आइसोलेसनको हरेक बेडमा अक्सिजनको ब्यवस्था गरिएको छ’ उनले भने, ‘अबको एक हप्तामा नयाँ आइसोलेसन पनि सञ्चालनमा आउँछ ।’

राज्यमन्त्री रावतले कोरोना आइसोलेसन वार्ड, निर्माणाधिन नयाँ भवन, प्रयोगशाला, निर्माण भइरहेको आइसोलेसन वार्डको निरीक्षण गरेको समितिका अध्यक्ष धितालले जानकारी दिए । राज्यमन्त्री रावतलाई भेरी अस्पतालले मेडिकल कलेज संचालन लगायत अन्य संरचना निर्माणका लागि ज्ञापन पत्र बुझाइएको थियो ।

अस्पताल समितिका अध्यक्ष धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले ज्ञापन पत्र बुझाएका थिए । सो अवसरमा अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, धनिराम ओली, मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठ, कोभिड वार्डका संयोजक डा. श्यामसुन्दर यादव लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर ९ गते मंगलबार