कोहलपुरबाट रेडपाण्डाको छालासहित चार पक्राउ



कोहलपुर ।

बाँकेको कोहलपुरबाट प्रहरीले दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले बसपार्कको एक होटलबाट छालासहित चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।

बसपार्क स्थिल न्यू राप्ती होटलको कोठामा दुर्लभ वन्यजन्यु रेडपाण्डाको छालाको ओसारपसार भईरहेको भन्ने सुचनाको आधारमा खटिएको विशेष प्रहरी टोलीले ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका ५ वस्ने गणेश नेपाली, सोही ठाउँका लाल बहादुर नेपाली, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ५ वस्ने दिनेश कार्कि र उमेश बहादुर थापा रहेका छन् ।

कोठामा निलो झोला भित्र रहेको २ फिट २ ईन्ट लम्बाई भएको दुर्लभ वन्यजन्यु रेडपाण्डाको १ थान छाला फेला परेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

अनुसन्धान पश्चात आवश्यक कारबाहीका लागि उनीहरुलाई डिभिजन वन कार्यालय बाँकेको जिम्मा लगाइने एसपी रानाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार