काँग्रेसले हटायो प्रमुख सचेतकबाट हमाल



बुटवल ।

लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकबाट बाँकेका सुरेन्द्र हमाललाई हटाइएको छ ।

हमाललाई जिम्मेवारी मुक्त गरेर कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले फखरुद्दिन खानलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

दलका नेता कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका थिए ।

खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेसको केन्द्रिय कार्यालय सचिवलाई जानकारी गराइसकेको नेता कनौडियाले बताए ।

पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेसले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।

प्रदेशको स्थायी राजधानी दाङ सार्ने सरकारको प्रस्तावको सम्बन्धमा कांग्रेस संसदीय दलले रुपन्देहीका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेपनि प्रमुख सचेतक हमाल, लेखा समिति सभापति डिल्ली चौधरी लगायत ६ जना सांसदले पार्टीको ह्वीप विपरीत दाङको पक्षमा मतदान गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक १९ गते बुधबार