घटना भएको तीन दिन बितिसक्दा पनि बाँके प्रहरीले तालुक निकाय लुम्बिनी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई औपचारीक रुपमा सोमबार रातीसम्म पनि जानकारी गराएको थिएन । अन्य कुनै स्रोतबाट घटनाबारे थाहा पाएपछि तालुक निकायबाट बुझ्दा बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले गलत जानकारी गराएका थिए ।आफुले नै खटाएका घुमुवाले गल्ती गरेपछि एसपी राना आफु समेत कारबाहीमा पर्ने डरले घटनालाई सामसुम पार्ने प्रयासमा छन् ।
शुक्रबार राती बाँकेको कोहलपुरमा प्रहरीले गराएको घटनाबारे बाँके प्रहरीले सोमबार रातीसम्म पनि तालुक निकायहरुमा औपचारीक जानकारी दिएको छैन ।
बाँकेका प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले व्यक्तिगत रुपमा खटाएका सादा पोशाकका दुई प्रहरी जवानले मदिरा सेवन गरेर एक घरसभित्र पसेर बबाल मच्चाएका थिए ।
एसपी रानाले कोहलपुर बसपार्क नजिकैको अमृत गिरीको घरमा जुवा भइरहेको भन्दै प्रहरी जवान भिम बहादुर डाँगी र अर्जुन मगरलाई सादा पोशाकमा त्यहाँ खटाएका हुन् । शुक्रबार मध्यराती साढे १ बजेतिर गिरीको घरमा छिरेका उनीहरुले त्यहाँ जुवा भइरहेको भने फेला पार्न सकेका थिएनन् ।
मदिराले लिप्त भएर त्यहाँ पुगेका उनीहरुले पेस्तोल देखाउँदै बबाल गर्न थालेपछि घरबेटीले ३ घण्टासम्म घरभित्र थुनेका थिए । जनताको जनधनको सुरक्षामा खटिएका प्रहरी नै मदिरा सेवन गरेर पेस्तोल देखाउँदै विवादमा उत्रिएको घटनाबारे बाँके प्रहरीले तालुक निकायमा अहिलेसम्म जानकारी दिन आवश्यक ठानेको छैन ।
सोमबार रातीसम्म पनि बाँके प्रहरीले तालुक निकाय लुम्बिनी प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई औपचारीक रुपमा घटनाबारे जानकारी गराएको थिएन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले सोमबार रातीसम्म घटनाबारे औपचारीक रुपमा जानकारी प्राप्त नभएको जानकारी दिए ।
‘अहिलेसम्म घटनाबारे त्यस्तो केही जानकारी प्राप्त भएको छैन’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘कोहलपुरमा घुमुवाले के घटना गराएको भन्ने चाही सुनिएको छ । हामीकहाँ थप जानकारी आएको छैन, जिल्लाकै प्रवक्तालाई यसबारे बुझ्नुहोला ।’
मिसन टुडेमा समाचार प्रकाशित भएपछि प्रदेश प्रहरी प्रमुख डिआइजी रविन्द्र सिंह धानुकले एसपी रानासँग फोन मार्फत जानकारी दिइसकेका छन् । उनीलाई एसपीले घटना बाहिर आएजस्तो नभएको भन्दै आफु मिलाइसकेको भनेर कन्भिन्स गरिसकेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले पनि घटनाबारे औपचारीक रुपमा जानकारी नभएको बताए । ‘त्यहाँको घटनाबारे हामीलाई औपचारीक रुपमा सूचना छैन’ उनले भने, ‘मैले खबर पाएर त्यहाँको एसपीलाई घटनाबारे बुझ्दा सामान्य घटना भएको जानकारी पाए ।’ मंगलबार मात्र यस घटनाबारे थप जानकारी जिल्लामा बुझ्ने उनले जानकारी दिए ।
आफ्नो कमजोरी लुकाउनको लागि एसपी रानाले घटनाबारे तालुक निकायका प्रहरी अधिकारीलाई गलत सूचना दिएर गुमराहमा राख्ने प्रयास थालेका हुन् । तालुक निकायमा घटनाबारे औपचारीक रुपमा जानकारी किन नदिएको भनेर एसपी रानासँग प्रश्न गर्दा प्रक्रियाले कारणले भन्दै पूरा जानकारी दिएनन् ।
बाँकेमा एसपीका घुमुवाको आंतकः मध्यरातमा घुमुवाको उद्धार गर्न डिएसपीलाई सास्ती
घटनाको बारेमा तालुक कार्यालयका प्रहरी अधिकारीलाई गलत सूचना दिनुभएछ भन्ने प्रश्न गर्दा यसबारे भेटेर मात्रै कुरा गर्ने भन्दै उनले फोन काटे । खासगरी मुद्दा चलाउने प्रहरी कार्यालयहरुले सूचना संकलनको लागि सादा पोशाकमा प्रहरी परिचालन गर्छन् । बाँके प्रहरीले तालुक निकायमा पठाएको घुमुवाहरुको सूचिमा घटनामा संग्लन रहेका दुवै जना प्रहरी जवानको नाम भने छैन ।
बाँके प्रहरी स्रोतका अनुसार कोहलपुरमा मदिरा सेवन गरेर आंतक मच्चाएका दुई प्रहरी जवानले एसपी रानाको निर्देशनमा मात्र काम गर्ने गर्दथे । ‘विवाद आएपछि मात्र हामीले उनीहरु घुमुवा रहेछन् भन्ने थाहा पाएका हौं’ बाँके प्रहरीमा कार्यरत एक प्रहरी अधिकारीले भने, ‘पछि खोजिनिती गर्दा एसपी सावले आफ्नै ढङ्गले परिचालन गरेको थाहा पायौं ।’
आरोपित प्रहरी जवान भिम बहादुर डाँगीले आफुहरुले माथिल्लो कमाण्डरको आदेश मात्र पालना गरेको बताए । ‘हामी त्यहाँ पुगेकै हो’ उनले भने, ‘त्यहाँ के भएको थियो भन्नेबारे माथिल्लो निकायलाई नै बुझ्नुहोला ।’ बसपार्क नजिकै रहेको अमृत गिरीको घरमा जुवा भइरहेको सूचनाको आधारमा एसपी रानाको निर्देशनमा उनीहरु शुक्रबार राती करिब साढे एक बजे त्यहाँ पुगेका थिए ।
ढोका खोल्ने वित्तिकै घरभित्र पसेका सादा पोशाकका प्रहरीले सूचना पाएजस्तो जुवा भइरहेको कुनै कुराहरु भने पाएनन् । सूचना अनुसारको काम नभएपछि फर्किनुपर्ने उनीहरुले घरमा रहेका मानिसहरुसँग विवाद गर्न थाले । मदिरा समेत सेवन गरेका उनीहरुले बबाल मच्चाउन थालेपछि सुरक्षाको लागि उनीहरुलाई घरबेटीले घरभित्रै थुनेका थिए ।
उनीहरुले आफुसँग भएको हतियार निकालेर त्यहाँ रहेका विभिन्न साम्रगीहरु तोडफोड गर्न थालेपछि तनाव सिर्जना भएको थियो । घरधनीले थुनेका सादा पोशाकका प्रहरीलाई साढे २ घण्टापछि इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले उद्धार गरेर जिल्ला प्रहरी कार्यालयमा पु¥याएका थिए ।










प्रतिक्रिया दिनुहोस्