बाँकेको नरैनापुर गाउँपालिकाले कानुन निर्माणलाई तीब्रता दिएको छ । गाउँपालिकाले असोज महिनामा मात्र ६ वटा कानुन, नियमावली र कार्यविधि बनाएको छ ।
शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाले असोज ९ गतेको कार्यपालिका बैठकबाट ५ वटा नियमावली र कार्यविधि बनाएको थियो ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिए ।
प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको उनले बताए । अब राजपत्रमा प्रकाशित गरेपछि ऐन कार्यान्वयनमा आउनेछ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘यो ऐन लागू भएपछि अब हामीलाई वातावरण स्रोत नक्सा तयार गर्न, वातावरण प्रतिकुल हुने अवस्थालाई रोक्न, वन क्षेत्रको संरक्षण गर्न, स्थानीय स्रोतको दोहनलाई रोक्न, स्थानीय स्रोतमा बृद्धि गर्न सहज हुनेछ ।’ गाउँपालिकाका अध्यक्ष शाहले प्रारम्भिक वातावरणीय परिक्षण (आइईई) मार्फत् वातावरणमैत्री विकासका लागि बाटो खुलेको बताए ।
गाउँसभामा प्रस्तावित ऐन उपर वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य र वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले सुझाब दिएका थिए । यसअघि असोज ९ गतेको कार्यपालिका बैठकबाट सार्वजनिक खरिद नियमावली २०७७, सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्वन्धि कार्यविधि २०७७, व्यवसाय कर सम्वन्धि कार्यविधि २०७७, घर जग्गा बहाल कर व्यवसाय कार्यविधि २०७७ र सार्वजनिक जवाफदेहिता प्रबद्र्धन सम्बन्धि कार्यविधि २०७७ पारित गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्