डेढ लाख बढीको अवैध सामान नियन्त्रणमा



नेपालगञ्ज ।

भारतबाट भन्सार छली गर्दै नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ठूलो परिमाणको सामानहरु बरामद गरेको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका १६ जयसपुरस्थित दशगजाबाट नजिकबाट सशस्त्रले अवैध सामान बरामद गरेको हो ।

नेपालगञ्ज भन्सारमा रहेको विओपी जमुनाहाबाट सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाको नेतृत्वमा गएको टोलीले अवैध सामग्रीहरु बरामद गरेको थियो ।

भारतबाट नेपालतर्फ अवैधरुपमा युपी ४० एम ४८६७ नम्वरको मोटरसाइकलमा सामान ल्याउँदै गरेको अवस्थामा कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थसहित करीव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । तस्कर समुह मोटरसाइकलमा भन्सार छली गरेर ती सामानहरु ल्याउँदै थिए ।

सशस्त्र प्रहरीको टोलीलाई देख्ने वित्तिकै तस्करहरु मोटरसाइकल र सामानहरु छोडेर भारततर्फ भागेको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिए ।

कोरोना महामारीका कारण नेपाल भारत सीमा बन्द भएका कारण खुल्ला सीमाबाट भन्सार छली गरेर नेपालतर्फ सामान भित्र्याउने तस्करहरु संक्रिय भएका छन् । आइतबार बरामद भएका सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमबार