५० हजार हिनामिना प्रकरण, समितिका पदाधिकारी कै संलग्नता खुल्यो



दिनेश बुढा, सुर्खेत ।

दैलेखको एक सिँचाई आयोजनाको ५० हजार हिनामिना भएको छ । आयोजनाको नगद ४८ हजार र दुई हजार रुपैयाँको दुई बोरा सिमेन्ट गरी ५० हजार रकम हिनामिना भएको पाइएको हो । यस प्रकरणमा उपभोक्ता समितिका पदाधिकारीहरुको नै संलग्नताको रहस्य खुलेको
छ । जिल्लाको ठाटीकाँध गाउँपालिकाका– ३ मा सञ्चालन भएको पातलखोला, ओखात्य, सल्लेरी र तल्लाछाना सिंचाई आयोजनाको ५० हजार रकम हिनामिना भएको स्थानीयले बताएका छन् ।

गाउँपालिकाबाट विनियोजन रकम उपभोक्ता समितिको नाममा हिनामिना गरिएको हो । सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष भक्त क्षेत्री, सचिव नरबहादुर क्षेत्री र कोषाध्यक्ष डिलसरा दशैदीले उक्त ५० हजार रकम हिनामिना गरेको स्थानीयको आरोप छ । स्थानीय शेरबहादुर दशौदीका अनुसार गाउँमा जनप्रतिनिधि, बुद्धिजिवि, युवा सहित उपभोक्ता समितिको उपस्थितिमा हिनामिना भएको रकम २०७७ भदाँै २ देखि भदौँ ५ गते भित्र समितिका सदस्य प्रजाराम दशौदीलाई बुझाउने निर्णय भएको थियो । तर डेढ महिनापुग्दा पनि निर्णय कार्यान्वयन नगर्दा विरोध चर्किएको हो ।

समितिको लापरवाहीले ९० सेन्टिमिटर गहिरो जमिन खनेर सिँचाई पाइप बिछ्याउनुपर्नेमा २८ सेन्टिमिटर भन्दा गहिरो खनिएको छैन् । कतिपय ठाउँमा पाइप सडकमै देखिन्छ भने कतिपय ठाउँमा सडक माथिबाट पाइप लिइएको छ । आयोजनाको ६ लाख रकममध्ये ५० हजार बाहेक अरु सबै खर्च भएको देखाइएको छ । आयोजनाको काम गत असार १३ गते सुरु भई ३१ गते सकिएको थियो । आयोजनाको काम ११ दिन मात्र भएको स्थानीय दशौदीले बताए । उनले भने ‘तर अन्य कामदारहरुले आफ्नो काम गरे अनुसारको ज्याला लिएपनि उपभोक्ता समितिका अध्यक्षले ११ दिनमा २३ दिन काम गरेको भन्दैँ दैनिक आठसय ५४ रुपैयाँको दरले ज्याला बुझेका छन् ।’

अर्का स्थानीय मयाराम दशौदीका अनुसार सचिव नरबहादुर दशौदीले ११ दिनमा ३४ दिन र कोषाध्यक्ष डिलसरा दशौदीले १० मा १७ दिन काम गरेको भन्दै अध्यक्ष सरह ज्याला लिएका छन् । यस विषयमा उपभोक्ता समिति अध्यक्षसँग सम्पर्क गर्दा कुरा नभएपनि कोषाध्यक्ष डिलसरा दशौदीसँग कुरा गर्दा उनले आफूले काम र दुःख गरेको मात्र पैसा लिएको बताइन् । उनले भनिन् ‘म काममा पनि कहिले काँही मात्र जान्थे । पैसा निकाल्न मात्र गएको छु । मसँग बढी रुपैयाँ आएको भनेको एकहजार मात्र हो ।

लिन मिल्दैन भने अरुले फिर्ता गरुन म पनि फिर्ता गर्छु ।’ समितिका सचिव नरबहादुर क्षेत्रीले कामदारलाई ५५ सयको दरले ज्याला दिएको र बचेको पैंसा मिलेर खाने भन्ने कुरा पहिला नै भएको स्विर्कार गरे । ‘सबैले खानुपर्छ भनेर ११ हजारसम्म बचेको पैसा हामिले खाएकै हो’ उनले भने, ‘अध्यक्षले ९ हजार, कोषाध्यक्षले ७ हजार, हामीले दुई चार हजार । लोभ गरेर गल्ती भएकै हो ।’ वडाध्यक्ष कर्णबहादुर शाहीले यसबारे आफूलाई जानकारी नभएको बताए । उनले भने ‘उक्त सिँचाई आयोजनाको काम सकिएर पनि बिल भुक्तानी भइसक्यो । भएको अनियमिता बारेमा पैंसा फिर्ता गर्ने निर्णय वडा सदस्य बलबहादुर बुढाले सुनाउनुभएको थियो । पछि मलाई थाहा भएन ।’

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार