सुदीप अधिकारी । बर्दिया ।
बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनबिरपुरका नवराज रिजाल एकाविहानै उठेर माछापोखरी जान्छन् । माछालाई आहारा हाल्छन् । सहयोगीका साथ लिएर पोखरीबाट माछा निकाल्छन् । यतीञ्जेल उनको आँगनमा माछा किन्न व्यापारी आइसकेका हुन्छन् । पोखरीबाट माछा निकाल्ने, बेच्ने काममै नवराजको विहान बित्छ । दैनिकरुपमा करिव ६ देखि ८ कुन्टल माछा बिक्रि गर्ने गरेको नवराज बताउँछन् । लामोसमय बेरोजगार भएर बसेका नवराज अहिले सफल माछापालक कृषक भएका छन् ।
नवराज भन्छन्, ‘लामो बेरोजगार भएर त्यत्तीकै घरमा समय बिताए । थोरै भएपनि आफनै श्रम र पुँजीले केही गर्छु भन्ने अठोट गरे । माछा पाल्न थाले । अहिले साझेदारीमा ठूलो परिमाणमा माछापालन गरेर आत्मनिर्भर भएको छु ।’ लामो समयदेखि माछापालन गरेर सफलता हासिल गरेका ठाकुरबाबा–५ बनबिरपुरका माछा उद्यमी राजेन्द्र शर्मासँग अहिले उनको साझेदारी छ ।
शर्मा पनि जिल्लाकै सफल माछापालक किसानका रुपमा चिनिन्छन् । अहिले साझेदारीमै नवराज र राजेन्द्रले करिव ४ हेक्टर जमिन लिजमा लिएर माछापालन गरेका छन् । वर्षमा करिव २ सय ५० देखि ३ सय कुन्टल माछा बिक्रि गर्ने गरेको माछा उद्यमी नवराज बताउँछन् । उनीहरुले माछाका भुरा पनि बिक्रि गर्ने गरेका छन् । माछा र भुरा बिक्रिबाट वार्षीक करिव २० लाख रुपैँयाँ चोखो आम्दानी हुने गरेको नवराजले बताए । नवराज र राजेन्द्र गोविन्दपुर गाउँका युवा बिरबहादुर थारु कुष्मा पनि माछापालन व्यवसाय गरेका छन् ।
आफ्नो व्यवसायबाट आफु सन्तुष्ट रहेको थारुले बताए । माछापालनबाट उनले पनि वार्षिक १२ लाख रुपैँया आम्दानी गरिरहेका छन् । उनीहरुको पोखरीमा रहुँ, सिल्भर, कमन, पंगासियस, ग्रास, भाकुर जातका माछा पाइन्छ ।
माछाको बजारको पनि खासै समस्या नभएको उनीहरु बताउँछन् । नवराज भन्छन्, ‘बजारको खासै समस्या नै छैन । माछा व्यापारीहरु पोखरीमै आएर माछा लिएर जान्छन् । कहिले काँही त माग पुर्याउनै गाह्रो हुन्छ ।’ उनीहरुको पोखरीको माछा बर्दियासँगै बाँके र कैलाली जिल्लामा पनि जाने गरेको छ । परिवारको साथ र सहयोगले पनि व्यवसायमा निकै सहयोग पुगेको उनीहरु बताउँछन् ।
साझेदारी व्यवसाय गरेका दुबै जना त्यत्तिकै मेहनती छन् भने एक अर्का प्रतिको विश्वास पनि उत्तिकै छ । पहिला पहिला घर घरमा माछा पुर्याउँदै माछा खान सिकाउने नवराजले आफुजस्ता केही युवाहरुलाई माछापालन ब्यवसाय गर्न प्रेरित गरेका छन् । यतीखेर यि युवा वेरोजगार युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन् । कमाउनका लागि विदेश नै जानु भन्ने युवाहरुको मान्यता गलत रहेको उनीहरुको धारणा छ । बर्दियाको बढैयातालपछि अहिले ठाकुरबाबाको बगनाह पनि माछाका लागि प्रख्यात बन्दै गएको छ ।
पछिल्लो समय लामो समयको लकडाउनका कारण माछाको दाना खरिद तथा ढुवानीमा समस्या परेको माछा किसान राजेन्द्र शर्माले बताउँछन् । सरकारले कृषी ऋणको अवधारणा ल्याएपनि वास्तविक किसानसँग उक्त कार्यक्रम पुग्न नसकेको माछापालक किसान राजेन्द्र शर्माको गुनासो छ । प्रतिफलमा आधारित भएर अनुदानका कार्यक्रम संचालन गर्न कृषि क्षेत्रमा लागेका युवाहरुको माग छ ।









प्रतिक्रिया दिनुहोस्