जसलाई छैन ‘तलब भत्ता’ मोह



बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल र                  खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल ।


उनीहरु दुवै जनाले राज्यबाट प्राप्त हुने सुविधा लिएका छैनन् । आफुलाई आउने तलब भत्ता शिक्षा क्षेत्रको विकास, साँस्कृतिक
तथा जेहेन्दारहरुको भविश्यका लागि खर्च गर्छन् । सवारी साधन समेत सरकारी होइन, आफ्नै प्रयोग गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भइरहेको भन्ने आरोप लागिरहेको बेला उनीहरु भने समाजमा उदाहरण बनेका हुन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

नेपाल सरकारका अवकाश प्राप्त पूर्व सचिव हुन्, भीम उपाध्याय । उनी देशभर हुने गरेका सामाजिक विकृति, विसंगति तथा सरकारका नराम्रा कामको खुलेर विरोध गर्छन् । राम्रा काम गर्ने स्थानीय सरकार, जनप्रतिनिधिहरुको खुलेर प्रशंसा गर्छन् । सरकारबाट पूर्व कर्मचारीलाई प्राप्त हुने पेन्सन समेत जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा लगाउँछन् । सामाजिक सञ्जाल फेसबुकमा १ लाख ३२ हजार १ सय ३९ जनाभन्दा बढी फ्लोअर भएका उनी एक शसक्त अभियान्ता समेत हुन् ।

उपाध्याय दैनिक दर्जनांै राम्रा र नराम्रा पक्षहरुबारे स्ट्याटस पोष्ट गरिहन्छन् । सोही शिलशिलामा उनले भदौं २८ र २९ गते बाँके दुई स्थानीय तहका वडा अध्यक्षबारे स्ट्याटस पोष्ट गरे । उनले ती दुवै जनाले स्थानीय तहबाट प्राप्त हुने तलब भत्ता शिक्षा, साँस्कृतिक , विकास निर्माणका लागि खर्चिने गर्ने गरेको उल्लेख गरेका थिए । ती उदाहरणीय जनप्रतिनिधि हुन्, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष माधव रिजाल र खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल । उनीहरुले गरेका उदाहरणीय काम बारेमा फेसबुकमा सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रशंसा गरे ।

कोहलपुर नगरपालिकाको प्रवक्ता समेत रहेका रिजाल आफूले गरेको कामको अरुबाट प्रशंसा हुँदा थप हौसला मिल्ने बताउँछन् । उनी भन्छन्, ‘मैले आफू सार्वजनिक व्यक्ति भएकोले आफ्नो तर्फबाट समाजलाई दिने गरेको हो । मलाई यसैमा खुसी छ । म भन्दा पनि मेरो वडा र नागरिकको खुसी र विकासको लागि यो मेरो सहयोग मात्रै हो ।’ उनी वडा अध्यक्षलाई प्राप्त हुने मासिक भत्ता र पारिश्रमिक लिन्छन्, तर त्यो रकम आफूले एक रुपैयाँ पनि व्यक्तिगत प्रयोजनको लागि प्रयोग नगरेर सामाजिक कार्यमा लगाउने गरेको बताउँछन् । अहिले करिब १० लाखको हाराहारीमा आफूले उक्त रकम सामाजिक कार्यमा लगाएको जानकारी दिए ।

उनी कोहलपुरका एक मात्र यस्ता जनप्रतिनिधि हुन्, जसले नगरपालिका र जनताको काममा खटिदाँ समेत आफ्नो व्यक्तिगत मोटरसाइकल प्रयोग गर्छन् । वडाअध्यक्षले मासिक पारिश्रमिक र भत्ता स्वरुप २४ हजार ६ सय ५० रुपैयाँ पाउँछन् । यद्यपी अहिले भने उक्त रकम केही बढेको छ । ‘यसबारे मलाई खास्सै चाँसो हुँदैन । तर एकमुष्ट रकम भने कुनै पनि विकासको लागि लगानी गरिरहेको छु । अहिलेसम्म मैले आफूलाई लाभ हुनेगरि उक्त रकम प्रयोग गरेको छैन ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले रिजालले भने । अहिलेसम्म उनले जनता मावि मैटहवालाई साढे पाँच, शान्ति टोलमा बत्ति जडानको लागि साढे एक लाख, साँस्कृतिक समूहहरुमा उक्त रकम लगानी गरेका छन् ।

भने बृद्ध भत्ता समेत अशक्त, जेष्ठ नागरिकलाई घरघरमा गई बुझाईदिने गरेका छन् । यसलाई उनी एक जिम्मेवारको नागरिकको कर्तव्यका रुपमा बुझ्छन् । यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्ल पनि आफ्नो तलब भत्ता गरिब र दुःखीहरुको उपचारका लागि खर्च गर्छन् । उनले आफ्नै खर्चमा वडामा मन्दिर बनाएका छन् । वडा अध्यक्ष मल्लले आफूले अहिलेसम्म राज्यबाट प्राप्त हुने सवारी र भत्ता केही पनि नलिएको बताए । उनका अनुसार उक्त रकम वडाको विकासको लागि खर्च हुने गरेको छ । यस्तै उनले एमबीबीएसमा नाम निकाल्ने विद्याथीलाई पाँच महिनाका आफ्नो तलब करिब पाँच महिनासम्म पुग्ने गरि व्यवस्था गरिदिएका छन् । जिल्ला अन्य केही जनप्रतिनिधिहरुले आफ्नो तलब भत्ता सामाजिक काममा खर्च गरेपनि सरकारले दिएको सवारी लगायतका अन्य सुविधा भने प्रयोग गर्दछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार