सवारी दर्ता क्रम कर्णालीमा बढ्यो साढे पाँच हजार दर्ता



कोहलपुर ।

यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतमा सवारी साधन दर्ता गर्ने क्रम बढेको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार चार सय पाँच वटा नयाँ सवारी साधनहरु दर्ता भएका छन् । सबैभन्दा बढी मोटरसाइकल दर्ता भएको कार्यालयले जनाएको छ । पाँच हजार सवारी साधन दर्ता भएकोमा सबैभन्दा बढी तीन हजार तीन सय ८७ वटा मोटरसाइकल मात्र दर्ता भएका थिए । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका प्रशासन प्रमुख आनन्द चपाईका अनुसार यो अवधीमा सबैभन्दा कम स्काभेटर र एम्बुलेन्स दर्ता भएका छन् । स्काभेटर र एम्बुलेन्स एक÷एक वटा मात्र कार्यालयमा दर्ता भएका थिए ।

चपाईका अनुसार कार्यालयमा स्कुटर १ हजार २ सय ६ वटा, बस ६२ वटा दर्ता भएका छन् । यस्तै मिनिबस ६१ वटा, माइक्रोबस दुई वटा, जिप ५७ वटा, कार ५ वटा, भ्यान ६ वटा दर्ता भए भने पिकअफ १ सय १२ वटा, ट्याक्टर ९८ वटा, पावर टेलर १७ वटा, टेम्पो २ सय ७६ वटा, ट्रक ३७ वटा, मिनिट्रक २९ वटा, भ्याकुलोडेर १० वटा दर्ता भएका थिए । यातायात कार्यालय कर्णालीमा यो अवधीमा २३ वटा विभिन्न यातायात प्रा.लि. दर्ता समेत भएका छन् । उनीहरुका १ हजार ५ सय ४७ वटा सवारी साधन रहेको छ । कार्यालयका अनुसार दर्ता भएका प्रा.लि.हरुमा काँक्रेबिहार यातायात, सुर्खेत बुलबुले, हिल्सा, युनिक हिमाल यातायात, सिद्धपाइला, मध्यपश्चिमा जिप तथा ट्याक्सी यातायात, देउती नागरिक यातायात, एस सुपर फास्ट, नमस्ते सुर्खेत यातायात, सुर्खेत देउती, वयलकम भेरी कर्णाली र भेरी गंगा यातायात रहेका छन् ।

यस्तै जाजरकोट कुसे यातायात, मध्यपश्चिम परिवहन, पञ्चकोसी यातायात, दोभानचौर, भेरी कर्णाली ट्रक, वौद्ध यातायात, सुर्खेत काँक्रेबिहार यातायात, मध्यपश्चिम यातायात, अल्फा यातायात र पब्लिक हिमाल यातायात प्रा.लि. दर्ता भएको यातायात व्यवस्था कार्यालय प्रमुख चपाईले जानकारी दिए । कर्णालीमा दर्ता गरिने सवारी साधन सरकारी कार्यालय तथा यहाँका नागरिकहरुले खरिद गरेको भएको उनले बताए ।

‘कर्णाली प्रदेश सरकारले यातायात कार्यालय खोलेपछि यहाँबाट नै सवारी दर्ता गर्ने क्रम बढेको छ’ उनले भने, ‘यहाँबाट दर्ता गर्दा नविकरण लगायतका काम गर्न सहज हुने भएकाले दर्ता गर्ने क्रम बढेको हो ।’ यहाँका दर्ता भएका नयाँ सवारी साधनमा पनि यहीको यातायात कार्यालयले सवारी नम्बर उपलब्ध गराउने गर्दछ । यता कार्यालयबाट दिने सेवा विस्तार भएसँगै आम्दानी समेत बढेको छ । कार्यालयका प्रमुख चपाईका अनुसार गत वर्षको तुलनामा एक करोड दुई लाख बढी आम्दानी भएको थियो ।

तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/०६६ नौ करोड ७१ लाख रुपैयाँ रुपैयाँ राजश्व संकलन भएको थियो भने आर्थिक वर्ष २०७६÷०७७ मा १० करोड ७३ लाख राजश्व संकलन भएको छ । सेवा प्रवाहमा थप भएसँगै राजश्व संकलन बढेको हो । कोरोना भाइरस नभएको खण्डमा थप राजश्व संकलन बढ्ने आँकलन गरिएको थियो । चैतदेखि असारसम्म लकडाउन हुँदा लाइसेन्स वितरण लगायतका सम्पूर्ण सेवाहरु बन्द भएका थिए । जसकाकारण राजश्व संकलन धेरै बढ्न सकेको यातायात कार्यालयको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार