शुभाकर विश्वकर्मा, कोहलपुर :
बाँकेको कोहलपुरमा वर्षौदेखि पिउन अयोग्य पानी उत्पादन,बिक्रि वितरण गर्दै आएको आएको एक पानी उद्योग सिल गरिएको छ । उद्योग सञ्चालनको लागि अनुज्ञा पत्र समेत नलिएको र पिउनको लागि अयोग्य पानी उत्पादन तथा वितरण गर्दै आएको कोहलपुर–११ स्थित मुक्तिनाथ ड्रिकिङ्ग वाटर उद्योगद्धारा उत्पादित बर पिपल पानी उद्योग सिल गरिएको हो ।
कमला लामिछानेले सञ्चालन गर्दै आएको उद्योगलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले एक वर्ष अघि उद्योगमा प्रयोगशाला नभएको, लेवल नभएको, प्रयोगशालामा काम गर्ने व्यक्तिको चेन्ज रुपको व्यवस्था गर्न र उत्पादित पानीमा उत्पादित मिति र ब्याच नम्बर अनिवार्य राख्न निर्देशन दिएको थियो । तर अनुगमनको क्रममा मुक्तिनाथ ड्रिकिङ वाटर ईन्डष्ट्रिजले एक वर्ष देखि कुनै पनि मापदण्ड पुरा गर्न गरेको नपाइएको सिल गरिएको हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका खाद्य निरिक्षक प्रेम अर्यालले २०७६ असोज १४ गतेका दिन अनुज्ञा पत्र लिएर मापदण्ड पुरा गर्न दिएको निर्देशन पालना नगरि अटेरी गर्दै कुनै पनि मापदण्ड पुरा गरेको नपाइएकोले शिल गरिएको बताए । उनका अनुसार उक्त पानी उद्योगमा लेबल वितरण नगरेको, यूपि नभएको र पूर्वाधार समेत नभएको पाइएको छ । ‘उद्योगलाई पानी बिक्रि गर्न अनुमति पनि छैन । अन्य मापदण्ड समेत पुरा भएका छैनन् । उत्पादित पानीको उपभोग्य मिति र ब्रान्ड समेत नभएका कारण अनुगमन पछि बिक्रि वितरण रोक्का गर्ने निर्णय सहित शिल गरिएको छ ।’ उनले भने ।
बुधबार कोहलपुर नगरपालिका स्तरीय उपभोक्ता हित समिति अन्तर्गत बजार अनुगमन समिति, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्त संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र तथा सञ्चारकर्मी सहितको संयुक्त टोलीको कोहलपुर क्षेत्रमा सञ्चालित तीन वटा पानी उद्योग अनुगमन गरेको थियो । कोहलपुर नगरपालिका स्तरीय बजार अनुगमन समितिका संयोजक विर बहादुर विकले कोहलपुर क्षेत्रमा अर्को मूल्यमा पानी उद्योगहरुले पिउने पानी बिक्रि वितरण गरेको उपभोक्ताहरुबाट गुनासो आएपछि अवस्था बुझ्नको लागि अनुगमन गरिएको बताए ।
अनुगमन गरिएका तीन वटा पानी उद्योग मध्ये सबै भन्दा बढि गुणस्तरहीन, बिना सावधानी, मापदण्ड पुरा नै नगरेको पानी उद्योग बन्द गरिएको हो । अन्य दुई वटा पानी उद्योगहरुलाई पनि आवश्यक मापदण्ड पुरा गर्नको लागि एक हप्ते अल्टिमेटम र १५ दिने दिइएको उनले जानकारी दिए । बुधबार अनुगमन गरिएका मध्ये कोहलपुर –१० स्थित यशोदा केसीले सञ्चालन गर्दै आएको झरना जल उद्योग कोहलपुरले समेत मानिसहरुको प्रत्यक्ष स्वास्थ्य सँग जोडिएको पिउने पानी उत्पादनको क्रममा आवश्यक सुरक्षा नअपनाउने गरेको पाइएको छ । उक्त उद्योगमा शिल बाहिर गर्ने गरिएको, बिना सुरक्षा पानी भर्ने गरेको, आफूले उत्पादन तथा बिक्रि गर्दै आएको उद्योगको स्टिकर टाँस्ने नगरेको उत्पादन मिति र मुल्य समेत नटाँसेको पाइएको हो ।
यस्तै झरना उद्योगले अनुज्ञा पत्र नविकरण नगरेको, साइनबोर्ड नटाँसेको र सम्बन्धित स्थानीय तहमा दर्ता नभएको पाइएको छ । झरना पानी उद्योगलाई पनि पहिलो पटक अभाव देखिएका सबै मापदण्ड पुरा गर्नको लागि सातदिने अल्मिेटम दिइएको छ । अर्को पटकको अनुगमनको बेला पहिलेको सुझाव पालना गरेको नपाइएमा शिल गरिने चेतावनी समेत दिइएको छ । यसैगरी कोहलपुर –११ स्थित सगरमाथा पानी उद्योगमा समेत अनुगमन गरिएको थियो ।उक्त उद्योगले अन्य दुई वटा उद्योग भन्दा राम्रो तथा गुणस्तरीय रुपमा पिउने पानी उत्पादन तथा बिक्रि वितरण गरेको भएपनि अनुज्ञा पत्र नविकरण विनै उद्योग सञ्चालन गरेको, पानीको नाप प्रमाणि नगरेको पाइएको छ ।
अनुगमन टोलीले उक्त उद्योगलाई १५ दिनभित्र अनुज्ञापत्र नविकरण गर्न, पानीको नाप प्रमाणित गर्न निर्देशन दिइएको छ । सगरमाथा पानी उद्योगले बजारमा ‘लाइफ ओके’ ब्रान्डको मिनेरल वाटर र जारमा पानी वितरण गर्दै आएको छ । तीन वटै उद्योगबाट प्रति उद्योग २/२ वटा जार प्रयोगशाला परिक्षणका लागि लिइएको छ । परिक्षणको क्रममा पानी पिउन अयोग्य ठहरिए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ । यसअघि कोहलपुरको चप्परगौडिमा संचालित एक पानी उद्योग पनि शिल गरिएको थियो ।
आफूखुसी चर्को मूल्य,उपभोक्ता ठगिदै
कोहलपुरमा भाद्र महिना सम्म प्रति जार ३० रुपैयाँ मुल्य थियो । तर अनुगमनको क्रममा सरकारको निर्देशन भन्दै कोहलपुर क्षेत्रका पानी उद्योगहरुले आफूखुसी मूल्य बढाएको पाइएको छ । असोज १ गतेदेखि कोहलपुर क्षेत्रका उपभोक्ताले प्रति जार ३० देखि ५० रुपैयाँ सम्म रुपैयाँ तिरेर पानी उपभोग गरिरहेका छन् । बुधबार अनुगमन गरिएका तीन वटै उद्योगहरुले उद्योग मै आएर जार तथा पानी खरिद् गर्ने उपभोक्तालाई ३० रुपैयाँ, बजारमा भने होलसेलमा खरिद् गर्नेलाई ३० देखि ३५ र फुटकरमा खरिद् गर्नेलाई ५० रुपैयाँमा बिक्रि वितरण गरिरहेको पाइएको हो । जसबाट यस क्षेत्रका उपभोक्ता साह्रै ठगिरहेका छन् ।
बजार अनुगमन समितिका संयोजक विके असोज १ गतेयता उद्योगहरुले उपभोक्ताहरुले आफूखुसी मूल्य बढाएको गुनासो गरेपछि अनुगमन गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण पौडेलले उत्पादन मूल्य भन्दा ६० प्रतिशत बढि उद्योगहरुले चर्को मूल्यमा पानी वितरण गरिरहेको बताए । उनका अनुसार उद्योगहरुले न्युनतम कम्तिमा २० प्रतिशत सम्म बढि मुल्यमा बिक्रि गर्न पाइने नियम छ । त्यसमा पनि दुवै पक्षलाई मार नपर्ने गरी मात्र ।‘उद्योगहरुले आफ्नो पाइदाको लागि मात्रै मूल्य बढाएको देखियो । उपभोक्ताहरुको लागि सोचेको देखिएन ।
सबैलाई साविककै बजार मुल्य अनुसार विक्रि वितरण गर्न लगाइएको छ ।’ उनले भने । यता उद्योगीहरुले भने सरकारको निर्देशन भन्दै यही भाद्र २२ गते कोहलपुर पानी उद्योग संघ उप–शाखाले गरेको निर्णय बमोजिम दररेट कायम गरि बिक्रि वितरण गरेको बताएका छन् । तर सरकारले भने काठमाडौ उपत्यकाका पानी उद्योगहरुको लागि मात्रै उक्त दर कायम गर्न निर्देशन दिएको अनुगमन टोलीका सदस्य जिल्ला प्रशासन कार्यालय बाँके प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले बताए । हाल कोहलपुरमा आधा दर्जन बढी पानी उद्योग सञ्चालित छन् ।











प्रतिक्रिया दिनुहोस्