नेकपा भर्सेस काँग्रेस



कोरोना कहर बिर्साउने पार्टी प्रवेश कार्यक्रममा संघीय, प्रदेश सांसददेखि प्रमुख राजनीतिक दलका नेताहरुको बाक्लो सहभागिता रहने गरेको छ । त्यहाँ न कुनै सामाजिक दुरी कायम गरिएको हुन्छ, न त स्वास्थ्य सुरक्षा नै अपनाएको देखिन्छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेमा जिल्लामा सोमबार साँझसम्म कोरोना संक्रमितको कुल संख्या एक हजार ६ सय ५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ११ जनाले मृत्यु भइसकेको छ । १ हजार २ सय ५० जना कोरोना जितेर घर फर्किसकेका छन् । प्रत्येक दिन पुष्टि हुने तथ्यांकले भन्छ, समुदायस्तरमा कोरोना तीव्र गतिमा डुलिरहेको छ । जिल्लाका आठ वटै स्थानीय तह अछुतो छैनन् ।

पहिल्लो समय झन् मृतकका साथै लक्षणसहितका संंक्रमित बढिरहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय सरकार ६ महिनायता क्रियाशिल छन् । यस्तो महामारीको बेला स्थानीय सरकारलाई सघाउनु राजनीतिक दलको प्रमुख दायित्व हुनुपर्ने हो । तर व्यवहारत बाँकेमा भने यस्तो पाइदैन । विशेषगरी कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका विभिन्न वडामा संघीय र प्रदेश सांसददेखि स्थानीय सरकारका प्रमुख, उपप्रमुखहरु पार्टीका कार्यक्रम, भेला र पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहेका छन् । खासगरी नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसले कोरोनालाई खेलाँची ठानेको देखिन्छ ।

उनीहरुले कोरोनालाई सामान्य ठानिरहेका छन् । कोरोना कहरका कारण बन्द अवस्थामा रहेका उद्योग, कलकारखाना अझै खुलिसकेका छैनन् । कोरोना कै कारण यहाँका हजारांै नागरिकको रोजगारी गुमेको छ । सरकारले विना सुरक्षा बाहिर हिड्डुल गर्न सुझाएको छ । खासगरी कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस महामारीलाई भुलेर दैनिक जसो सयौं जना जम्मा गरेर राजनितिक कार्यक्रम गरिरहेका छन् । एकतिर जनता कोरोना कारण गाँस र बाँस खोसिएकोले चिन्तामा छन् भने यी दुई पार्टीहरु महामारीको बेला पार्टी प्रवेश गराउन हात धोएर लागेका छन् ।

उनीहरुको सभा, भेला र कार्यक्रम हेर्दा लाग्छ, उनीहरुले कार्यक्रम गरिरहेको ठाउँमा कोरोनाको प्रभाव नै छैन । अझै ती सभाका पहिलो लाइनमा बसिरहेका नेताहरु बीच न त सामाजिक दुरी कायम भएको देखिन्छ, नत सुरक्षा अपनाएको पाइन्छ । यस्ता प्रकारका कोरोना कहर बिर्साउने खालका राजनीतिक दलका भेलाले कोरोना संक्रमणको अवस्था झन् भयावह हुने अवस्था छ । दुवै पार्टीका नेता कार्यकर्ताहरु बडो फूर्तिका साथ आज यतिजना प्रवेश गरे भन्दै सामाजिक सञ्जालमा फेसबुकमा पोष्ट गरिरहेका हुन्छन् ।

यता दुवै पार्टीको जिल्ला नेतृत्व भने आफ्नो पार्टीमा आकर्षण बढ्दै गइरहेको भन्दै अघोषित अभियान सञ्चालन भइरहेको बताउँछ । सत्तारुढ नेकपा बाँकेमा सचिव अशोक कोइरालाले नेकपामा जनताको आकर्षण बढिरहेको भन्दै अभियानका रुपमा नभएर सुरक्षा सहित कार्यक्रम सञ्चालन भइरहेको बताए ।

उनका अनुसार पार्टीमा प्रवेश गर्नेहरुको संख्या धेरै भएकोले पार्टीको नियमित कार्यक्रम अनुसार नै भेला भइरहेका छन् । ती भेलाहरुमा सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाइएको उनले दाबी गरे । तर सचिव कोइरालाले दाबी गरेजस्तो नेकपाले विभिन्न पालिकामा गरेका कार्यक्रममा स्वास्थ्य मापदण्ड पुरा गरेको देखिदैन ।

नेकपाले कोरोना कहरमा पार्टी प्रवेश विशेष अभियान थालेको हो ? भन्ने मिसन टुडे दैनिकको प्रश्नमा उनले भने, ‘हाम्रो पार्टीको अभियान नै होइन । पार्टी प्रवेश कार्यक्रम चाही हो । हामीले स्वास्थ्यका मापदण्ड पुरा गरेका छौ ।

कहि कतै भीडमा केही कुरा कमि भएका होलान् ।’ यता नेपाल काँग्रेस बाँकेकी सभापति किरण कोइरालाले पनि आफ्नो पार्टीले कार्यक्रम गर्दा सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गरेको बताउँछिन् । कोरोना कहरको बेलामा पार्टीले अभियान कै रुपमा भने पार्टी प्रवेश अभियान नथालेको उनले जानकारी दिइन् । तर काँग्रेसका कार्यक्रमहरु र नेता कार्यकर्ताका प्रचारप्रसार चुनाव भन्दा कम छैनन् ।

नागरिक समाज, सञ्चारमाध्यम र स्थानीय प्रशासनको आग्रहको बेवास्ता गर्दै राजनीतिक गतिविधि सञ्चालन भइरहेकै छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले पनि राजनीतिक दलका त्यस्ता गतिविधि मिडिया र सामाजिक सञ्जालमा आइहरहेको भन्दै कोरोना महामारीको समयमा त्यस्तो कार्य ठिक नभएको बताए ।

उनका अनुसार सरकारले समेत त्यस्ता प्रकारका भेला आयोजना नगर्न भनेको समयमा राजनीतिक दलले विना साबधानी भेला गर्नु नराम्रो हो । ‘पछिल्लो समय यस्ता कुरा आइरहेका छन् । मिडिया र सामाजिक सञ्जालमा समेत देखिन्छ । यो ठिक होइन । लगत्तै राजनीतिक दलसँग बैठक राख्दै छौं’ उनले भने ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार