शैक्षिक क्रियाकलाप तत्काल नहुने



कोहलपुर नगरपालिकाले आइतबारदेखि आंशिक रुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको थियो । तर विद्यालय सञ्चालनको केही घण्टाअघि मात्र नगरपालिका आफ्नै निर्णयबाट पछि हट्यो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेले तत्काल शैक्षिक क्षेत्रहरु सञ्चालन नगर्न आइतबार निर्देशन दिएको छ । जिल्लामा अब दशै तिहार अगाडि विद्यालयहरु सञ्चालन हुने छैनन् ।

कोहलपुर ।

बाँकेमा तत्काल शैक्षिक क्षेत्रहरु सञ्चालनमा ल्याउन नपाइने भएको छ । यहाँमा स्थानीय तहहरुले क्रमश शैक्षिक क्षेत्र खुलाउने तयारी थालेका थिए । तर आइतबार शिक्षा विकास तथा समन्वय इकाई बाँकेले एक सूचना जारी गरेर तत्काल शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाएको हो । कोरोना महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द भएका शैक्षिक क्षेत्रहरु अझै सञ्चानलमा आउन सकेका छैनन् । बाँकेका स्थानीय तहहरुले शैक्षिक क्षेत्र सञ्चालनको तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हस्तक्षेप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको सूचना अनुसार विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र सञ्चालन गर्ने उल्लेख भएको शिक्षा विकास तथा समन्वय इकाईले जारी गरेको सूचना भनिएको छ । ‘बाँके प्रशासनले असोज १ गते जारी गरेको सूचना अनुसार गर्न गराउन स्थानीय तहहरुलाई अनुरोध गरेका छौं’ इकाई प्रमुख राम सुरेश यादवले भने, ‘प्रशासनले विद्यालय सञ्चालनको लागि निर्णय नगर्दासम्म बन्द नै हुन्छन् ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सरकारको नै शैक्षिक क्षेत्रहरु सञ्चालनमा तत्काल नल्याउने निर्णय गरेको जानकारी दिए । ‘गत भदौं २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक्षिक क्षेत्र सञ्चालन नगर्ने निर्णय गरेको थियो’ उनले भने, ‘हामीले उक्त निर्णय मात्र कार्यान्वयनमा ल्याएका हौं । आफै निर्णय गरेका होइनौं ।’ बाँकेमा कोरोनाको जोखिम कम नभएकाले विद्यालय सञ्चालन गर्दा अझै संक्रमण फैलिन सक्ने बताए । ‘अब विद्यालयहरु त सञ्चालन गर्नुपर्छ’ उनले भने, ‘कोरोना जोखिम नभएकाले पुर्व योजना बनाएर शैक्षिक क्षेत्र सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।’

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले आइतबारदेखि आंशिक रुपमा विद्यालय सञ्चालनमा ल्याउने तयारी गरेको थियो । केही दिनअघि नगर शिक्षा समितिले आंशिक रुपमा विद्यालय सञ्चालन गर्ने भनेर औपचारीक निर्णय गरेको थियो । तर नगर शिक्षा शाखाले आइतबार बिहान मात्र सूचना जारी गरेर विद्यालय सञ्चालन तत्काललाई नगर्ने अर्को सूचना जारी ग¥यो । माथिल्लो निकायबाट दबाब आएपछि आफैले गरेको निर्णय नगर शिक्षा शाखाले खारेज गरेको हो । नगर शिक्षा शाखा प्रमुख अनन्त पौड्यालले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्म विद्यार्थीलाई विद्यालयमा बोलाएर कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

आदेशको अवज्ञा र अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी सूचनामा दिइएको छ । ‘विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरु अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र सञ्चालन गर्नु गराउनु हुन सम्बन्धित सबैका लागि सूचना जारी गरिएको छ’ शाखा प्रमुख पौड्यालले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि नगर शिक्षा शाखाले कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई असोज ४ गतेदेखि कक्षा कोठामा बोलाएर पढाउन निर्देशन दिएको थियो । यसअघि बाँकेको राप्तीसोनारी गाउँपालिकाले आंशिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय थियो । पछि जिल्ला प्रशासन कार्यालय बाँकेले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएपछि अन्तिम समयमा आएर निर्णय कार्यान्वयनमा आएन । अब भने जिल्लामा दशै तिहारपछि मात्र शैक्षिक क्षेत्रहरु सञ्चालनमा आउने अधिकारीहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार